
काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले नेपाली कांग्रेसबाट टिकटको हस्ताक्षरमा नाम फेर्न प्रस्ताव आए छलफल गर्न सकिने बताएका छन् ।
फुटको संघारमा पुगेको कांग्रेसमा टिकटमा हस्ताक्षर गर्ने व्यक्तिको नाम फेर्ने विषयमा चर्चा भइरहेका बेला भण्डारीले नाम फेर्ने प्रस्ताव आएमा छलफल गर्न सकिने बताएका हुन् ।
२१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सबै राजनीतिक दलले समानुपातिक उम्मेदवारको सूची पुस १४ मै निर्वाचन आयोगमा बुझाइसकेका छन् । कांग्रेसले बुझाएको उक्त उम्मेदवारको सूचीमा सभापति शेरबहादुर देउवाको हस्ताक्षर रहेको छ ।
त्यस्तै, माग ११ गते राष्ट्रिय सभाको निर्वाचन हुँदै छ । राष्ट्रिय सभाका लागि कांग्रेसका उम्मेदवारको टिकटमा पनि देउवाले नै हस्ताक्षर गरेका छन् ।
अब प्रतिनिधिसभाको प्रत्यक्षतर्फ माघ ६ गते उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ । त्यसका लागि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले सभापति देउवाको सट्टा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हस्ताक्षरमा टिकट वितरण गर्नुपर्ने माग उठाएका छन् ।
सो विषयमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले प्रस्ताव आएपछि कानूनी पाटोमा परामर्श गरिने बताएका हुन् । यद्यपी नाम फेर्ने विषयमा अहिलेसम्म निर्वाचन आयोगमा कसैले निवेदन दिएका छैनन् ।












