काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी कुनै एक व्यक्तिको प्रचारमा केन्द्रित हुन नहुने बताएका छन् ।

नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल ९एकता पक्षधर०बीच भएको समायोजन कार्यक्रममा बोल्दै उनले पार्टी सामूहिक नेतृत्व र सामूहिक निर्णयमा विश्वास गर्ने भएकाले व्यक्तिवादी प्रचारलाई प्राथमिकता दिन नहुने स्पष्ट पारे ।
सहसंयोजक नेपालले पार्टीका नेताहरूले गरेका राम्रा कामको प्रचार गर्नुपर्ने र कमजोरी भए त्यसको जिम्मेवारी लिन सक्ने संस्कार विकास गर्न आवश्यक रहेको बताए । व्यक्तिको अत्यधिक प्रशंसा गर्दा पार्टी कमजोर बन्ने उदाहरण अन्य दलहरूमा देखिएको भन्दै उनले त्यसबाट पाठ सिक्नुपर्ने उल्लेख गरे ।
‘राम्रो कामको प्रचार गर्नुपर्छ, कमजोरी भए जिम्मा लिनुपर्छ । तर यसको अर्थ कुनै नेता विशेषको प्रचार गर्नु होइन,’ उनले भने, ‘यो पार्टीको प्रचार हो । यो पार्टी सामूहिकतामा विश्वास गर्छ । अरु पार्टीको अहिलेको हालत हामी देखिरहेका छौं, त्यसबाट हामीले सिक्नुपर्ने आवश्यकता छ ।’
उनले पार्टीलाई जनताको आशा र भरोसाको केन्द्र बनाउनु आजको ठूलो चुनौती रहेको भन्दै त्यसलाई सामना गर्दै अघि बढ्नुपर्ने बताए ।
‘विगतका एकताका प्रक्रियाबाट पनि हामीले पाठ सिक्नुपर्छ । जति धेरै व्यक्ति, समूह र घटक पार्टीमा प्रवेश गर्छन्, त्यति नै प्रशिक्षणको आवश्यकता पर्छ,’ उनले भने, ‘प्रशिक्षणपछि मात्र सबै एकरूपतामा अघि बढ्न सक्छन् । आगामी दिनमा नेपाली जनताको आशा र भरोसाको केन्द्र यो पार्टीलाई बनाउने चुनौतीपूर्ण कार्य हाम्रो सामु छ ।’











