
काठमाडौं । काठमाडौं महानगर प्रमुख बालेन शाहले देश विकासका लागि लोकप्रिय नाराभन्दा पनि इमानदार नेतृत्व र दीर्घकालीन दृष्टिकोण आवश्यक रहेको बताएका छन् ।
२७औँ भूकम्प सुरक्षा दिवसको अवसरमा शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाहले राष्ट्र निर्माणको नयाँ यात्रामा अघि बढ्ने उद्घोष गरेका हुन् ।
आगामी फागुन २१ गते हुने उपनिर्वाचनमा रास्वपाबाट झापा क्षेत्र नं. ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनाव लड्ने तयारीमा रहेका शाहले आफ्नो इन्जिनियरिङ पृष्ठभूमि र अनुभवलाई राजनीतिसँग जोड्दै देश बदल्ने संकल्प व्यक्त गरेका हुन् ।
बालेनले २०७२ सालको विनाशकारी भूकम्पपछि आफूले एक सिभिल इन्जिनियरका रूपमा काभ्रेमा मात्रै करिब २५ सय घर निर्माण गरेको स्मरण गरेका छन् । गोरखा लगायत देशका ३५ भन्दा बढी जिल्लामा काम गर्दाको अनुभवले आफूलाई धेरै कुरा सिकाएको उनको भनाइ छ ।
‘नेपालजस्तो भूकम्पीय जोखिम भएको देश सिभिल इन्जिनियरिङको कोणबाट मात्र बन्दैन,’ शाहले भनेका छन्, ‘भौगोलिक भू–बनोटसँगै हाम्रो विविधतायुक्त समाजलाई माथि उकास्न अनेक पाटोलाई सँगसँगै लैजानुपर्छ।’
सोही बुझाइका साथ आफू भारत गएर ‘स्ट्रक्चरल इन्जिनियरिङ’ अध्ययन गरी विदेशमा बस्ने अवसर त्यागेर देश फर्किएको उनले उल्लेख गरेका छन् ।
काठमाडौँ महानगरपालिकाको नेतृत्व सम्हाल्दै गर्दा आफूले शब्दभन्दा कामलाई प्राथमिकता दिएको दाबी गर्दै शाहले स्थानीय तहले चाहेमा आम जनताको सुविधाका लागि धेरै काम गर्न सकिन्छ भन्ने प्रमाणित गरेको जिकिर गरेका छन् । महानगरमा सुरु भएका सुधार र पारदर्शी प्रणालीलाई अब राष्ट्रिय स्तरमा विस्तार गर्ने समय आएको उनको संकेत गरेका छन् ।
बालेनले आफ्नो आगामी राजनीतिक यात्राको उद्देश्य स्पष्ट पार्दै भनेका छन्, ‘हामी राजनीतिमा आउनुको मूल उद्देश्य नै नेपाललाई सुरक्षित, दिगो र व्यवस्थित बनाउने हो ।’
उनले अब देशलाई अल्पकालीन निर्णय र लोकप्रिय नाराको सट्टा जनताको विश्वास जित्ने शासन व्यवस्था र इमानदार नेतृत्व चाहिएको बताए ।
पछिल्लो समय झापा–५ बाट निर्वाचन लड्ने चर्चालाई बल पुग्ने गरी उनले ‘अब राष्ट्र निर्माणको यात्रामा अघि बढ्ने समय आएको’ उल्लेख गरेका छन् ।











