
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले व्यक्तिलाई होइन संस्थालाई मान्यता दिन निर्वाचन आयोगसमक्ष आग्रह गरेका छन् ।
आज कांग्रेस संस्थापन पक्षले विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा चयन भएको नयाँ कार्यसमिति बदरको माग गर्न आयोग पुगेका कोइरालाले सो आग्रह गरेका हुन् ।
उनले भने, ‘म एउटै प्रश्न गर्न चाहन्छु– आज टुँडिखेलमा गईकन कुनै निर्वाचन आयुक्तले माघ ६ गते नोमिनेसन हुँदैन भन्यो भने त्यो निर्वाचन आयोगलाई मान्य हुन्छ कि हुँदैन? व्यक्ति होइन, हामीहरूले संस्था खोजेको । संस्थालाई हेरेर हामी अगाडि जानुपर्ने हुन्छ ।’
माघ ६ गतेको प्रसंग कोइरालाले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको सन्दर्भमा निकालेका हुन् । कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित पुगेका नेता कोइरालाले आयोगका पदाधिकारीहरूसँग सिंगो केन्द्रीय समिति र सदस्य आफूसँग रहेको दाबी गरेका थिए ।
कोइरालाले विशेष महाधिवेशनका पक्षमा गरिएका हस्ताक्षर फिर्ताको निस्सा आफूहरूसँग रहेको दाबी पनि गरे । उनले भने, ‘विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षर फिर्ता भएको निस्सा हामीसँग छ ।’
यस्तै कार्यवाहक सभापति खड्काले पनि विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको दाबी गरे ।











