काठमाडौं । गगन थापा नेतृत्वका नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले दुई दिनभित्रमा १६५ क्षेत्रकै उम्मेदवार टुङ्गो लगाउने बताएका छन् । शेरबहादुर देउवा पक्षसँग पार्टीको आधिकारिकता विवादबारे छलफल गर्न निर्वाचन आयोगमा पुगेका शर्माले गगन थापा नेतृत्वको टिमले उम्मेदवार छनोटमा काम गरिरहेको जानकारी गराएका हुन् ।

गगन थापाको अध्यक्षतामा बसेको बैठकले संसदीय बोर्ड गठन गरिसकेको र १६५ क्षेत्रमै अबको दुई दिनभित्रमा उम्मेदवारी टुङ्ग्याउने गरी टिमले तयारी गरिरहेको शर्माले जानकारी गराएका हुन् । घोषणा पत्र तयार गर्ने र परिचालन गर्ने टिमले पनि त्यही अनुसार तयारी गरिरहेको शर्माले बताए ।
निर्धारित समयमै निर्वाचन गराउन आफ्नो सम्पूर्ण रूपमा साथ रहने बताउँदै उपसभापति शर्माले कांग्रेसभित्रको विवादका कारण निर्वाचन तालिकामा असर पर्न नहुने पनि बताए । ‘निर्वाचन आयोगले यसलाई ९पार्टीको आधिकारिकता विवाद० छिटो निरूपण गर्नुपर्छ। निर्णय भइसकेपछि राष्ट्रव्यापी रूपमा निर्वाचनको माहोल बनाउन हामी प्रतिबद्ध छौँ’, शर्माले भने ।
उनले बहुमत कांग्रेसका प्रतिनिधि आफूहरूसँगै रहेको दाबी गरे । ‘नेपाली कांग्रेसको तत्कालीन कार्यसमितिसँग केन्द्रीय समितिमा रहेको बहुमत जस्तै पार्टीको महाधिवेशन प्रतिनिधिहरूमा पनि बहुमत थियो होला कति भनेर कल्पनाको मात्रै एउटा साहित्यिक कुरा गर्ने हो भने विधिवत् रूपमै विशेष महाधिवेशन बोलाउन उहाँहरू तयार हुनुहुन्थ्यो होला। नेपाली कांग्रेसको विधान अनुसार २०८२ मङ्सिर मसान्तसम्ममा सकिने थियो। बहुमत छैन भनिसकेपछि उहाँहरू नियमितमा पनि नजाने र विशेषमा पनि नजाने अवस्थामा पुग्नुभयो’, शर्माले भने ।











