Logo
Logo

निर्वाचन विचारको मञ्च कि घृणाको रणभूमि ?


252
Shares

नेपाली राजनीतिमा फेरि गालीको उद्योग फस्टाउन थालेको छ । यसको मूल कारण एउटै छ– निर्वाचन । प्रतिनिधिसभाको चुनाव नजिकिँदै जाँदा विचार बेच्न नसक्नेहरू गाली बेच्न मैदानमा उत्रिन्छन् । एजेन्डा सकिएपछि अपमान नै हतियार बन्छ ।

सामाजिक सञ्जाल विचारको चौतारी हुनुपर्ने थियो । तर, आज त्यो घृणाको अखडा बनेको छ । यहाँ बहस हुँदैन, कसले बढी गाली गर्न सक्छ भन्ने होड चल्छ । तथ्यको तौल होइन, अपमानको ताली बज्छ । विवेकको ठाउँमा उत्तेजना बोल्छ । र, तर्कको हत्या हुन्छ ।

सबैभन्दा खेदजनक तथ्य के छ भने यो घृणायुद्धका मुख्य सेनापति स्वयं राजनीतिक दलका नेता र तिनका कार्यकर्ता छन् । जब नेताहरू विचारको खेती छाडेर गालीको व्यापारमा लाग्छन्, तब कार्यकर्ताहरू आँखामा पट्टी बाँधिएका ‘हनुमान’ बन्छन् । विवेक बन्धक हुन्छ । अनि आदेश सर्वोपरि । परिणामस्वरूप, सामाजिक सञ्जाल घृणाको भट्टी बन्छ । अपमानको उत्सव चल्छ ।

राजनीति जनतालाई जोड्ने माध्यम हुनुपर्ने हो । तर, सामाजिक सञ्जालमा देखिएको अभ्यासले राजनीति विभाजनको औजार बन्दै गएको प्रमाणित गर्छ । नेताहरूले फरक मतलाई शत्रु ठान्छन्, आलोचनालाई षड्यन्त्र ठान्छन् । र, असहमतिलाई राष्ट्रघात भन्छन् । त्यसपछि कार्यकर्ताहरूलाई निर्देशन दिन्छन्- गाली गर, चरित्रहत्या गर, घृणा छर ।

राजनीति गज्जबको छ । आफ्ना पार्टीका सबैले दूधले नुहाएका हुन्छन् । अर्को पार्टीका नेता गोमन हुन्छन् । खतम हुन्छन् । गएगुज्रेका हुन्छन् । आफूलाई ठूला दल, राम्रो पार्टी र महान् देखाउन अरूको सत्तेसराप गर्नुपर्छ ।

निर्वाचन नजिकिँदै जाँदा यो प्रवृत्ति महामारीझैँ फैलिन्छ । मत माग्नुपर्ने बेलामा डर, त्रास, लोभलालचको खेती गरिन्छ, नीति सुनाउनुपर्ने समयमा विष ओकलिन्छ । चुनाव विचारको मञ्च रहँदैन, घृणाको रणभूमिमा रूपान्तरित हुन्छ ।

यो घृणा आकस्मिक विस्फोट होइन, पूर्वनियोजित रणनीति हो । भावनामा खेल्ने, क्रोध भड्काउने र समाजलाई मतको नाममा ध्रुवीकरण गर्ने सुनियोजित अभियान । सामाजिक सञ्जाल यस अभियानको सबैभन्दा सजिलो, सस्तो र प्रभावकारी हतियार बनेको छ । एउटा पोस्ट, एउटा भिडियो र एउटा अफवाह समाजमा आगो सल्काउन पर्याप्त हुन्छ ।

धेरै कार्यकर्ताहरू आफ्ना नेताको बचाउ गर्ने नाममा शब्दको मर्यादा त्याग्दैछन् । उनीहरू अनायासै ‘डिजिटल डस्टबिन’ बन्दैछन्, जहाँ गाली, झुट र घृणाको फोहोर थुपारिन्छ । उनीहरूले बुझ्न चाहँदैनन् एउटै घृणापूर्ण पोस्टले समाजको सद्भावमा गहिरो दरार पार्न सक्छ भन्ने ।

झुटलाई बारम्बार दोहो¥याएर सत्य साबित गर्ने प्रयास निर्लज्ज रूपमा भइरहेको छ । यसले समाजमा राजनीतिक मात्र होइन, साम्प्रदायिक वैमनस्यतासमेत गहिरिँदै गएको छ । सामाजिक सञ्जालको यो विषाक्त जंगलमा हरेक क्लिकले नयाँ विष छर्दै छ, हरेक सेयरले घृणालाई थप मलजल गरिरहेको छ । तर यो कुनै नयाँ रोग होइन, यो पुरानै विष हो, जसलाई राजनीतिक दलका नेता र तिनका कार्यकर्ताहरूले वर्षौँदेखि निरन्तर मलजल गर्दै आएका छन् ।

सामाजिक सञ्जाल स्क्रोल गर्नासाथ घृणाका विषालु सर्पहरू लहराउँछन् । ती सर्पका डसाइहरू अधिकांश दलका ‘योद्धा’हरूबाट आउँछन् । एउटा पोस्टमा विरोधीको चरित्रहत्या, अर्कोमा आफ्ना नेताको देवत्वकरण र तेस्रोमा झुटा अफवाहको बम फुटाउँछन् । यो यिनीहरूको फर्मुला हो । एउटा दलको कार्यकर्ता विरोधी नेतालाई ‘देशद्रोही’ ठोकुवा गर्छ, अर्कोले ‘भ्रष्टाचारी’को बिल्ला टाँस्छ, र तेस्रोले साम्प्रदायिक आगो सल्काएर समाजलाई विभाजनको डिलमा पु¥याउँछ ।

सत्ता प्राप्तिका लागि समाजलाई चिरा पार्नु, परिवारको भावनात्मक एकता भत्काउनु र देशको रगतमा विष घोल्नु यिनीहरूको घोषित नभएको तर व्यवहारमा देखिने ‘रणनीति’ बनेको छ । तर प्रश्न गम्भीर छ– के यी नेताहरूले कहिल्यै सोच्दैनन् कि घृणाको यही विष अन्ततः आफैँलाई पनि निल्छ ? वा उनीहरू जानाजान यो खेल खेलिरहेका छन्, किनकि सत्ताको स्वाद यति मोहक हुन्छ कि विष पनि अमृतझैँ लाग्छ ?

जसको झोलीमा जनतालाई दिन सकिने कुनै ठोस योजना हुँदैन, उसैले सामाजिक सञ्जालमा घृणाको प्रचारलाई आफ्नो मुख्य एजेन्डा बनाउँछ । ‘लाइक’ र ‘सेयर’को नशाले नागरिक विवेकलाई ढाक्ने प्रयास भइरहेका छन् ।

यी नेताहरूले घृणा छरेर सत्ता त जित्छन्, तर देश हार्छ । र त्यो हार कुनै अमूर्त अवधारणा होइन, हामी सबै त्यसका मौन साक्षी हौँ । अब आत्मपरीक्षणको समय आएको छ– के हामी यस्ता विषालु सर्पहरूलाई पालिरहने, कि तिनलाई चिनेर समयमै कुच्ने?

राजनीतिमा पक्ष र विपक्ष हुनु स्वाभाविक हो । आलोचना लोकतन्त्रको प्राण नै हो । तर आलोचना सभ्य, पाच्य र विचारप्रधान हुनुपर्छ । भाषणको आडमा व्यक्तिगत गालीगलौज गर्नु राजनीति होइन, त्यो राजनीतिक पतनको सार्वजनिक स्वीकारोक्ति हो । राजनीति देशका नीति, नियम र भविष्यको खाका कोर्ने सामाजिक थलो हो । तर विडम्बना आज राजनीतिमै नीति हराएको छ ।

चुनावको समयमा जनतासामु लैजानुपर्ने कुरा नीति, योजना र कार्यक्रम हुन्, गालीको पुलिन्दा होइन । देश बनाउने वा बिगार्ने जिम्मेवारी राजनीति र राजनीतिक नेतृत्वकै काँधमा छ । नेता जनताका आइकन हुन्छन्, सामाजिक दिशासूचक हुन्छन् । त्यसैले उनीहरूको आचरण, भाषा र व्यवहार स्वभावतः विशिष्ट र मर्यादित हुनुपर्छ ।

निर्वाचनमार्फत लोकतन्त्र अभ्यास भइरहेको छ, तर नेतृत्व वर्गमा लोकतान्त्रिक संस्कारको गहिरो अभाव प्रस्ट देखिन्छ । नेतृत्वको चरित्र र व्यवहार नै अलोकतान्त्रिक हुँदा, प्राप्त उपलब्धिले लोकतन्त्रको मूल्य जोगाउन सक्दैन । सभ्यता र संस्कारविनाको उपलब्धि अन्ततः खोक्रो हुन्छ ।

गाली, आरोप र अपमानलाई राजनीतिक संस्कार बनाएका नेता वा दलबाट समाज रूपान्तरणको अपेक्षा गर्नु भ्रम मात्र हो । संस्कारविहीन नेताले सभ्य समाज निर्माण गर्छ भन्ने कल्पनै आफैँमा विरोधाभास हो । यही असभ्य र भद्दा अभिव्यक्तिकै कारण पछिल्लो समय युवापुस्ता राजनीतिप्रति वितृष्ण हुँदै गएको छ ।

नेताहरूले बुझ्नुपर्छ– गालीगलौज न आफूलाई महान् बनाउने उपाय हो, न त पार्टीलाई बलियो बनाउने अस्त्र । अब गाली होइन, जनताको मुद्दा उठाउने साहस देखिनुपर्छ । गरिब, निमुखा, पिछडिएका र अल्पसङ्ख्यकहरूको आवाज सुन्नु र उठाउनु नै राजनीतिक नेतृत्वको वास्तविक परीक्षा हो । प्रश्न उठ्छ– के लोकतन्त्र घृणाको आधारमा टिक्न सक्छ ? नेताहरू आफैँ घृणाको भाषा बोलेपछि कार्यकर्ताबाट के अपेक्षा राख्ने ?

घृणाले चुनाव जित्न सक्छ, तर देश हार्छ । क्षणिक ताली बटुल्न सक्छ, तर दीर्घकालीन रूपमा समाजको आत्मा खोक्रो बनाउँछ । सामाजिक सञ्जालमा फैलिएको यो विष राजनीतिले नै नियन्त्रण गर्नुपर्छ । नत्र भोलि घृणाको आगोले दल मात्र होइन, सम्पूर्ण लोकतान्त्रिक संस्कारलाई नै जलेर खरानी बनाउनेछ ।

प्रतिक्रिया दिनुहोस्