काठमाडौं । गृहमन्त्री बनेको २६ दिनमै सुधन गुरुङले राजीनामा दिएपछि नयाँ गृहमन्त्री को बन्ला भन्ने चर्चा सुरु भइसकेको छ । अहिले तत्कालका लागि गृहको जिम्मेवारी पनि प्रधानमन्त्री बालेन शाहले आफैसँग राख्ने निर्णय गरेका छन् ।

विवादित व्यापारी दीपक भट्टसँग सेयर लगानी लगायतका विषयमा नागरिक स्तरबाट उठेका प्रश्न र टिप्पणीहरूलाई सम्बोधन गर्दै गुरुङले बुधवार नैतिकताको आधारमा राजीनामा दिएको घोषणा गरेका थिए । प्रधानमन्त्री बालेन शाहको मन्त्रिमण्डलमा उनी चैत १३ गृहमन्त्री बनेका थिए ।
गुरुङले राजीनामा दिएपछि पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटी, राजुनाथ पाण्डे, पूर्वएआईजीपी विश्वराज पोखरेल र दीपक बोहराको नाम अगाडि छ । सभापति रवि लामिछाने निकट रहेका बुर्लाकोटी संस्थापक नेता हुन् । पार्टी प्रवक्ता मनिष झा पनि गृहमन्त्रालयको जिम्मेवारीका लागि लबिङ गरिरहेका खुलेको छ ।
बुर्लाकोटी गत निर्वाचनमा गोरखा–२ बाट निर्वाचित भएका थिए । गृहमन्त्रीका सचिवालय सदस्य दीपक बोहराले पनि दाबी गरेको बुझिएको छ । बोहोरा सभापति रविको विश्वासपात्र हुन् । उनी कञ्चनपुर–२ बाट निर्वाचित भएका थिए । झा अघिल्लो संसद्मा समानुपातिक सांसद थिए । गत निर्वाचनमा उनी धनुषा–३ बाट निर्वाचित भएका थिए ।
नेपाल प्रहरीका पूर्वएआईजीपी विश्वराज ओखलढुङ्गाबाट निर्वाचित उनी पार्टीमा सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र दुवैका विश्वासिला मानिन्छन् । त्यसैले पनि उनको दाबीलाई बलियो रूपमा हेरिएको छ ।
उता बालेन्द्र काठमाडौं महानगरपालिकाको मेयर हुँदा प्रहरी प्रमुख बनेका पाण्डे विश्वासिला पात्र हुन् । काठमाडौं ३ बाट चर्चित नेता कुलमान घिसिङलाई हराएका पाण्डेलाई बालेनले गृहमन्त्री बनाए अनौठो हुने छैन ।











