
काठमाडौं । नेपाल प्रहरीका ८ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)का सरुवा भएको छ ।निर्वाचन नजिकिँदै गएका बेला प्रहरी प्रधान कार्यालय नक्सालले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका प्रहरी प्रमुखको सरुवा गरेकाे हो । त्यस्तै चारवटा प्रदेशमा प्रहरी प्रमुख हेरफेर भएका छन् ।
सरुवा सूचीअनुसार केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाटबाट डीआईजी भूपेन्द्रबहादुर खत्रीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर, दाङ सरुवा गरिएको छ । कर्णाली प्रदेश कार्यालय सुर्खेतबाट डीआईजी माधवप्रसाद श्रेष्ठलाई केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाट ल्याइएको छ ।
यस्तै लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रमुख रहेका डीआईजी राजेन्द्रप्रसाद भट्टलाई नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्साल खटाइएको छ ।
यसैगरी बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी अरुण पौडेललाई नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग कार्य निर्देशनालय नक्साल ल्याइएको छ । गण्डकी प्रदेश प्रहरी प्रमुख रहेका डीआईजी दिनेशकुमार आचार्यलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महारागन्ज सरुवा गरिएको छ ।













