Logo
Logo

अग्निपरीक्षामा सानिमाका नयाँ सिइओ पवन


945
Shares

काठमाडौं । पछिल्लो समय सानिमा बैंकको ‘पफर्मेन्स’ खस्किन थालेको छ । विगतमा राम्रो र बलियो बैंकको रुपमा परिचित यस बैंक अहिले भने अन्य बैंकहरूभन्दा कमजोर देखिन थालेको छ । जसले गर्दा लगानीकर्ता समेत चिन्तित बनेका छन् ।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले हालैमात्र अवकाश लिएका छन् । सो सँगै बैंककै पवनकुमार आचार्य सिईओ बन्दैछन् । आगामी माघ १२देखि उनले कार्यभार सम्हाल्नेछन् । तर उनी पनि बोल्ड बन्न नसक्ने र बैंकको छवि उकास्न गाह्रो हुने कर्मचारीहरू बताउँछन् । कर्मचारीहरूलाई विश्वासमा लिएर काम गर्ने उनको क्षमता भएपनि नेतृत्व तहमै भने विश्वास जित्न गाह्रो भएको कर्मचारी बताउँछन् ।

विगतमा निकै क्रेज भएको यस बैंक अहिले भने कमजोर देखिएको छ । अहिले यस बैंकप्रति मानिसको विश्वास पनि खस्कँदै जान थालेको छ । सानिमा बैंकलाई पाण्डेले पनि बलियो बनाउन नसकेको बताइएको छ ।

गैर आवासीय नेपालीहरूसमेतको लगानीमा स्थापना भएको बैंक हो सानिमा बैंक । वि.सं. २०६८ मा विकास बैंकबाट सानिमा बैंकको वाणिज्य बैंकमा स्तरोन्नती भएको थियो । डा. युवराज खतिवडा गभर्नर रहेका समयमा वाणिज्य बंैक बनेको सानिमा बैंक अहिले कमजोर बन्दै गएको हो । वाणिज्य बैंक बनेदेखि नै जनमानसमा राम्रो छवि बनाउँदै अघि बढेको यस बैंक पछिल्लो समय भने खस्किएको छ ।

बैंकको सीईओको रुपमा भुवन दाहालले कार्यभार सम्हाल्दा बैंकका सूचकहरू ठिकै थिए । नेपाल राष्ट्र बैंकका नेतृत्वसँगको उठबस तथा हिमचिमका कारण बैंक जोगिएको थियो । यद्यपी भित्र पूरै खोक्रो बन्ने तरखरमै थियो । तर यसअघिका सीईओ पाण्डेले बैंकलाई राम्रोसँग सञ्चालन गर्न सकेनन् ।

यस बैंकले पछिल्लो समय आशातित प्रगति गर्न नसक्दा बैंकको लगानी खेर जाने हो कि भन्ने चिन्ता थपिएको जानकारहरू बताउँछन् ।

सानिमा बैंक बेलाबेलामा राष्ट्र बैंकको कारबाहीमा समेत पर्दै आइरहेको छ । कहिले बाफियाको गम्भीर उल्लंघन गरेको भन्दै राष्ट्र बैंकले सचेत गराएको छ भने कहिलेसीईओलाई आफूखुसी नियमभन्दा बढी सुविधा दिएको भन्दै कारबाहीमा समेत परेको छ । आफ्नो नेतृत्वमा रहेको बैंकको पफर्मेन्स सुधार्न सिईओ पाण्डेले ध्यान नदिएको कर्मचारीहरू गुनासो गर्छन् । अबका सीईओ आचार्यले भने बैंकलाई कसरी अगाडि बढाउँलान् अहिले चासोको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्