Logo
Logo

जनादेश लत्याउँदै मेयर चुनावी मैदानमा


378
Shares

काठमाडौं । जेनजी आन्दोलनले २०८४ मा हुनुपर्ने प्रतिनिधिसभा सदस्यको निर्वाचन दुई वर्षअघि ल्याएपछि स्थानीय तहमा काम गरिरहेका मेयरहरु संघीय सांसदको टिकट बोकेर देश दौडाहमा छन् । स्थानीय तहका केही जनप्रतिनिधि कार्यकाल नसकिँदै प्रतिनिधिसभा निर्वाचन लड्नका लागि विभिन्न राजनीतिक दलबाट उम्मेदवारी दिने लागेका छन् ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल अझै १७ महिना बाँकी छ । उनीहरूलाई जनताले पूरा कार्यकालका लागि निर्वाचित गरेका हुन् । स्थानीय शासन विज्ञका अनुसार कार्यकाल पूरा नगर्नु जनतालाई धोका हो, जनादेशको अपमान हो ।

तीन वर्षअघि मात्रै जनताबाट अनुमोदित भएर स्थानीय तहको बागडोर सम्हालेका बालेन्द्र साह (बालेन), हर्कराज राई (साम्पाङ), रेनु दाहाल, अशोक व्यान्जु लगायत कार्यकाल नसकिँदै संघीय संसद्को प्रतिनिधिसभा सदस्यको टिकट लिएर हिडेका हुन् ।

साह काठमाडौं महानगरपालिका, राई धरान उपमहानगरपालिका र दाहाल भरतपुर महानगरपालिकाका मेयर हुन् । व्यान्जु धुलिखेल नगरपालिकाका मेयर हुन् । साह र राई स्वतन्त्र रुपमा मेयरमा विजयी भएका हुन् । दाहाल भने तत्कालीन माओवादी केन्द्रबाट मेयरमा विजयी भएकी हुन् ।

यि तीनैजना २०७९ वैशाखमा भएको स्थानीय चुनावबाट स्थानीय सरकार प्रमुखमा निर्वाचित भएका हुन् । साह, दाहाल, राई र व्यान्जुले पाँचवर्षे कार्यकाल पूरा नगरी प्रतिनिधिसभा निर्वाचनमा जाने भएर राजीनामा दिएपछि जनताले आफूलाई धोका भएको महसुस गर्न थालेका छन् ।

उनीहरुले राजीनामा दिएपछि अवस्थामा स्थानीय तहमा उनीहरूले प्रतिनिधित्व गरेको पद रिक्त हुन्छ, जनादेश खण्डित हुन्छ । जनादेश खण्डित गर्नु धोका हो । काठमाडौंको मेयरमा एमाले र कांग्रेस उम्मेदवारलाई पराजित गरी साह विजयी भएका थिए । साह, राइले आइतबारबाट राजीनामा दिएका छन् । साहलाई काठमाडौं महानगरपालिकाले विदाईसमेत गर्न पाएन । साह ६१ हजार ७६७ मतसहित विजयी हुँदा कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ र एमालेका केशव स्थापितले ३८ हजार ११७ मत पाएका थिए ।

साहले स्थानीय सरकारको प्रतिधिधित्व गरिरहँदा संघीय सरकार र पुराना दलका नेताको आलोचना आफ्नो लोकप्रियता कायमै राखे । त्यही लोकप्रियताका आधारमा उनी प्रतिनिधिसभा निर्वाचन हुँदै संघीय सरकारमा आफ्नो उपस्थिति देखाउने प्रयत्नमा झापा ५ पुगेका छन् ।

साह अब स्वतन्त्र रहेनन । उनी रास्वपाको वरिष्ठ नेताको हैसियतमा टिकट लिएर झापा पुगेका छन् ।
धरान उपमहानगरपालिकामा श्रमदान अभियान चलाएर चर्चामा आएका मेयर राई आफ्नै नेतृत्वमा निर्वाचन आयोगमा श्रम संस्कृति पार्टी दर्ता गराएर प्रतिनिधिसभा निर्वाचन अभियानमा जुटेका छन् । सुदूरपश्चिम प्रदेशदेखि कोसी प्रदेशसम्म एक पटक घुमिसकेका राई अहिले पूर्वी क्षेत्रमा केन्द्रित रहेका राइले कम्युनिस्ट र कांग्रेसका कार्यकर्तालाई आफ्नो पार्टीमा तानेर चुनावी मैदानमा आएका छन् । पछिल्लो समय राईले बालेन साह र रवि लामिछानेको पनि चर्को विरोध गरिरहेका छन् ।

जेनजी आन्दोलनपछि प्रधानमन्त्री बन्ने आकांक्षा बोकेर काठमाडौं आएका राई सोचे जस्तो नभएपछि दल खोलेर संघीय प्रतिनिधिसभाको यात्रा होमिएका हुन् । जनताले धरान उपमहानगरपालिकाको नेतृत्वमा पाँच वर्षका लागि अनुमोदन गरेका राई जनादेश खण्डित हुनेगरी दल खोलेर प्रतिनिधिसभा निर्वाचन दौडमा लागेपछि जनातले धोका पाएको महसुस गरेका छन् ।

स्थानीय निर्वाचनमा राई २० हजार ८२१ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका किशोर राईले १६ हजार ५९ मत पाएका थिए । मेयरमा निर्वाचित भएयता राई लोकप्रियताको चर्चासँगै विवादमा पनि तानिएका छन् । उनी विरोधीलाई तह लगाउन सामाजिक सञ्जाल प्रयोग गर्छन् । काठमाडौं महानगरपालिकाका मेयर साहले पनि राईले जस्तै सामाजिक सञ्जाल भरपुर उपयोग गर्दै आएका छन् ।

भरतपुर महानगरपालिकाकी मेयर दाहाल पनि कार्यकालको बिचैमा संघीय राजनीतिमा आउने संकेत देखिएको छ । २०७९ मा दोस्रो पटक पाँच वर्षका लागि मेयरमा निर्वाचित दाहाललाई फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन–३ बाट उम्मेदवार बनाउन नेपाली कम्युनिस्ट पार्टीले एकल सिफारिस गरेसँगै राजिनामा दिएर उम्मेदवारी दर्ताको तयारीमा छिन् ।

२०७४ मा दाहालले मेयरमा २०३ मत अन्तरले जितेकी थिइन् । २०७९ मा दाहालले राप्रपा–एमाले गठबन्धनका उम्मेदवार विजय सुवेदीलाई १२ हजार बढी मतान्तरले पराजित गरी जित निकालेकी थिइन् । धुलिखेल नगरपालिकाका मेयर अशोक व्यान्जु एमालेबाट निर्वाचित भएका हुन् । गोकुल बाँस्कोटाको टिकट खोसेर उनलाई पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्