Logo
Logo
टिप्पणी

कांग्रेसमा पुस्तान्तरण कि विग्रह ?


819
Shares

काठमाडौं । नेपालमा जेनजी विद्रोहपछि राजनीतिक दलहरूमा आएको तरंगले नेपाली काँग्रेसमा विग्रह ल्यायो । यो विग्रहले नेपाली राजनीतिमा पुस्तान्तरण र हस्तान्तरण खोजेको स्पष्ट देखियो । काँग्रेसको विशेष महाधिवेशनबाट गगन थापाको उदय सामान्य नेतृत्व परिवर्तन मात्र होइन, यो पुस्तान्तरण र राजनीतिक रूपान्तरणको अभ्यास हो ।

लामो समयदेखि पार्टी राजनीतिमा रहेका नेताहरूले पाटीलाई नै जमेको तलाउ जस्तो बनाएको बेला आएको जेनजी विद्रोहले काँग्रेसलाई दुई भागमा विभाजन ग¥यो । एउटा भाग युवाको काँधमा आयो भने अर्को भाग बर्षोदेखि पार्टी कब्जा गर्नेहरूको काँधमा पुग्यो । यो सामान्य विषय होइन, कार्यकर्ताहरूमा आएको चेतनाको परिणाम हो ।

एक दुई दशकदेखि पार्टी नेतृत्वलाई विधि, मूल्य र प्रणालीमा फर्किन दबाब दिँदै आएका गगन अहिले स्वयं युवाहरूको प्रतिनिधित्व गर्दै काँग्रेसको नेतृत्वमा पुगे । यो घटनाले काँग्रेसमा नयाँ आशा जगाएको छ, तर त्यत्तिकै गम्भीर प्रश्नहरू पनि उब्जाएको छ ।

निर्वाचन आयोगले आधिकारिक नेपाली काँग्रेसका रूपमा विशेष महाधिवेशनको निर्णयलाई मान्यता दिनु ऐतिहासिक निर्णय हो । यो निर्णयले जेनजी विद्रोहको मर्म बुझेको देखिन्छ । जेनजी विद्रोहमा रहेका युवाहरूले समेत समर्थन गरेको अवस्थामा काँग्रेसलाई सग्लो अग्लो र भरलाग्दो बनाउने जिम्मेवारी नयाँ पुस्ताको काँधमा आयो । संस्थापन पक्षले अदालतमा यसलाई चुनौती दिएर रिट दायर गरेको छ । जसले काँग्रेसलाई वैधानिक र नैतिक दुवै संकटतर्फ धकेल्ने जोखिम बोकेको छ ।

भदौ २३ को जेनजी विद्रोहपछि मुलुकको राजनीति त्यही प्रवाहमा छैन । यसको अर्थ राजनीतिक दलको नेतृत्व सुधार र पुस्तान्तरण हो । त्यति मात्र होइन, समग्रतामा यसले दलदेखि राज्यसञ्चालनसम्म सुधारका निम्ति आग्रह गरेको छ ।

विशेष महाधिवेशनबाट बनेको नयाँ कार्यसमितिलाई आयोगले मान्यता दिएको भए पनि अघिल्लो केन्द्रीय समितिमा बहुमत रहेको देउवा–शेखर पक्षलाई विश्वासमा लिन नसकिए कांग्रेस गहिरो विभाजनमा फस्नेछ ।

आफ्नै पार्टीभित्र प्रश्न उठेको अवस्थामा नयाँ र बदलिएको कांग्रेसले व्यवहारमा प्रमाणित गर्नुपर्ने चुनौती अब बढ्दै गएको छ । जेन–जी आन्दोलनअघि नै कांग्रेसभित्र नयाँ पुस्ताले विधि, विधान, मूल्य र प्रणालीको पक्षमा आवाज उठाइरहेको थियो ।

जेन–जी आन्दोलनले त्यो आवाजलाई बलियो बनायो । तर कांग्रेसले त्यस आन्दोलनप्रति स्पष्ट, लोकतान्त्रिक र जिम्मेवार निष्कर्ष निकाल्न नसक्नु पार्टीकै कमजोरी बन्यो । अब ती माग र मुद्दाको सम्बोधन गर्ने जिम्मेवारी गगन नेतृत्वको कांग्रेसकै काँधमा आएको छ ।

सबैभन्दा संवेदनशील प्रश्न भनेको आउँदो फागुन २१ गतेको प्रतिनिधिसभा चुनाव हो । अदालतमा मुद्दा चलिरहँदा उम्मेदवार चयन, मनोनयन र चुनावी अभियानमा कांग्रेस अन्योलमा पर्नेछ । पार्टी दुईतिर हुँदा कार्यकर्ता र मतदाता दुवै निराश हुने खतरा छ । यसले केवल काँग्रेसलाई होइन, समग्र लोकतान्त्रिक प्रक्रियालाई पनि असर पार्न सक्छ ।

पहिले नेतृत्वलाई प्रश्न गर्ने र घेराबन्दी गर्ने भूमिकामा रहेका नयाँ पुस्ता अब आफैँ नेतृत्वमा छन् । अबको भूमिका फरक छ । आफ्नै पार्टीका विभाजित धारलाई सहमति र विश्वासको आधारमा जोड्न नसके नयाँ नेतृत्वको नैतिक बल कमजोर हुनेछ । नयाँ पुस्ताको सफलता अब भाषण वा नाराले होइन, निर्णय र व्यवहारले मापन हुनेछ । साथै युवाहरूले जिम्मेवारी लिएका कारण कांग्रेस सच्याउने मात्र होइन, लोकतान्त्रिक प्रणालीलाई रक्तसञ्चार गराउने अवसर पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्