
कलाकार छिरिङ शेर्पाको एक मात्र परिचय छैन । उनी सगरमाथा आरोही, ‘गिनिज बुक होल्डर’, ‘ईभेन्ट अर्गनाईजर’ र ‘डान्सर’ हुन् । उनी नयाँ नयाँ काम गर्न रुचि राख्छिन् । सबै क्षेत्रमा सफलता पाइरहेकी उनको जीवन भने सङ्घर्षमय छ । सोलुखुम्बुकी छिरिङ शेर्पासँग रेजिना पाण्डेको जम्काभेट :
सगरमाथा चढ्ने रहर मनमा कसरी आयो ?
मेरो जन्म सोलुखुम्बुमा भएको हो । म शेर्पाको छोरी हुँ । मेरो जातैको कारण सबैले मलाई जहाँ गएपनि सगरमाथा देख्नुभएको छ ? सगरमाथा चढ्नुभएको छ ? भन्ने प्रश्नहरु आइरहन्थे । त्यसपछि मलाई सगरमाथा बारे जिज्ञासा बढ्यो । सगरमाथा चढ्ने र हेर्ने रहर पनि जाग्यो । यसकारण म सगरमाथाको चुचुरोमा पुगेँ ।
सगरमाथाको चुचुरोमा पुगेर नेपालको झण्डा फहराउन पाउदा कस्तो महसुस भयो ?
एकदमै खुशी लाग्यो । आफुले सोचेको भन्दा राम्रो अनुुभव भयो । चुचुरोमा पुगेर मृत्युसँग लडेर फर्किनुप¥यो । सगरमाथा पुगेर आएपछि मैले आफुलाई धैरै माया गर्न थाले । वास्तवमा जीवन के रहेछ र ? भन्नेपनि लाग्यो । मलाई लाग्छ, आत्मविश्वासले सगरमाथाको चुचुरोमा पु¥यायो ।
कालापत्थरमा नृत्य गरेर गिनिज बुकमा नाम लेख्ने अवसर पाउँदाको अनुभव कस्तो रह्यो ?
आफ्नो नाम रहनेगरी नयाँ काम गरौँ भन्ने एउटा उद्देश्य थियो । त्यहि उद्देश्यले पाँच हजार पाँच सय मिटर उचाइमा रहेको कालापत्थरमा नृत्य गरेको थिएँ । मैले नृत्य गरेको गीत पनि ‘हिट’ भएको थियो । यो उचाइमा नृत्य गरेर गिनिज बुकमा नाम लेखाउने पहिलो व्यक्ति हुन पाउँदा खुशी लागेको छ ।
अहिले के मा व्यस्त हुनुहुन्छ ?
भर्खर मात्र ‘च्यारिटी रन वे’ कार्यक्रम सकियो । अन्य इभेन्ट कार्यक्रमहरु भइरहेका छन् ।
कुन कुन इभेन्ट गर्नुहुन्छ ?
म दुई वटा इभेन्ट गर्छु । ‘मिस शेर्पा’ र ‘च्यारिटी रन वे’ । यो ‘च्यारिटी रन वे’ चाहिँ अपाङ्गता भएका र सीप, मेहनत गरेर आफुलाई अब्बल बनाईरहनु भएकाहरुका लागि गरिएको इभेन्ट हो ।
वैवाहिक जीवन कस्तो चल्दै छ ?
राम्रो छ । श्रीमानको साथ र सहयोगले जीवन अघि बढिरहेको छ ।
विवाह गरेको लामो समय भयो, बच्चाको बारेमा के सोच्नु भएको छ ?
अब बिस्तारै हुन्छ ।
आउँदै गरेको दसैँ कसरी मनाउँदै हुनुहुन्छ ?
दसैँ मलाई मनपर्ने पर्व हो । म यो पर्वमा रमाउँछु । रमाइलो गर्छु । दसैँ परिवारसँग मनाइन्छ ।
यहाँसम्म आइपुग्न के कस्तो सङ्घर्ष गर्नुप¥यो ?
पारिवारिक रुपमा पनि धेरै पीडादायी क्षण गुजार्नुप¥यो । मेरो कुण्डलि खराब भएका कारण मैले आमाको समेत धेरै बचन सुन्नुप¥यो । मैले बाबा, मामाहरु खाएँ भन्ने आरोप पनि लाग्यो । धैरै कष्ट सहनुप¥यो ।
कुण्डलिमा विश्वास लाग्छ ?
कुण्डलिको भरमा विश्वास गरेर चल्नेहरु धैरै छन् । विश्वास लाग्नै प¥यो । समय पनि त्यस्तै थियो । भाग्यमा जे लेखेको छ त्यहि पाउने हो । मेरो कुण्डलिमा केही समय दुःख लेखेको थियो । अब सुख आउँदै छ । यस्तै हो, जीवनमा सुख, दुःख आइरहन्छ ।
आजको दिनमा तपाईले आमालाई हेर्ने दृष्टिकोण कस्तो छ ?
मैले बाल्यकालमा आमाबाट धैरै दुःख पाएँ । तरपनि म आज घृणाले हेर्दिनँ । जे–जस्तो भए पनि आमाले जन्म दिनु भयो । संसार देखाउनु भयो । समय परिस्थितिले यो सबै गर्न बाध्य बनायो । आमा त आमै हो नि । यतिखेर आमालाई देख्दा ‘बिचरा’ जस्तो लाग्छ । किनभने, बुबा हुनुहुन्न । म सानै हुँदा बित्नु भएको थियो ।














