काठमाडौं । प्रत्येक वर्ष फेब्रुअरी २ तारिखमा मनाइने विश्व सिमसार दिवस यस वर्ष ‘सिमसार र परम्परागत ज्ञान सांस्कृतिक सम्पदाको सम्मान’ नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस वर्षको नाराले सिमसार क्षेत्रसँगै मानवको परम्परागत ज्ञान र सांस्कृतिक सम्पदा संरक्षणमा जोड दिएको छ ।

सिमसार भन्नाले पानीको मुहानलगायत दलदल एवं पानी जमेको क्षेत्रलाई जनाउँछ । ताल, तलैया, पोखरी, नदी, खोला, झरना, धानखेत आदि सिमसार क्षेत्रअन्तर्गत पर्छन् । जैविक विविधताको दृष्टिले महत्त्वपूर्ण प्राकृतिक स्थलका रूपमा रहेको सिमसारले विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई बासस्थान प्रदान गर्नुका साथै मानिसलाई जीवनयापनका स्रोत प्रदान गर्दछ ।
सिमसार क्षेत्रको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले यो दिवस मनाइने गरेको छ । नेपालमा पछिल्लोपटक मानवीय गतिविधिको अतिक्रमण र जलवायु परिवर्तनका असरले मौसममा देखिएको परिवर्तनसँगै सिमसार क्षेत्र सीमित हुँदै गएको देखिन्छ । तिनको क्षेत्रफल र गुणस्तर घट्दै गइरहेको छ । केही स्थानका सिमसार लोपसमेत भइसकेका छन् ।
पछिल्लो समय अव्यवस्थित रूपमा गरिने विकास निर्माणका पूर्वाधार, सिमसार क्षेत्र नजिक बढ्दो जनसङ्ख्या, बढ्दो प्रदूषण, मानव बस्ती र उद्योगको फोहरमैला सोझै नदी र सिमसार क्षेत्रमा विसर्जन गर्ने प्रवृतिलगायत चुनौती थपिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्यले जानकारी दिए ।
अतिक्रमण र अत्याधिक दोहनको चुनौती
त्यस्तै जलवायु परिवर्तनका कारण बाढी आउँदा धेरै पानी हुनु र पानी नपर्दा सुक्खा हुनु, गरिबी र बेरोजगारीले सिमसारमा बढी आश्रित हुनु, परम्परागत कृषि प्रणालीमा भएको रूपान्तरण, सिमसारजन्य स्रोतको अधिक दोहन, बाह्य मिचाहा प्रजातिको अतिक्रमण, रासायनिक मल र विषादीको मिसावट पनि सिमसारका पछिल्ला प्रमुख चुनौती बनेको वरिष्ठ इकोलोजिष्ट आचार्यले बताए ।
विश्वव्यापी रूपमा सिमसार क्षेत्रको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले सिमसार महासन्धि ९रामसार महासन्धि० सन् १९७१ मा इरानको रामसार सहरमा भएको थियो । रामसार महासन्धिमा हस्ताक्षर गरिएको दिन फेब्रुअरी २ तारिखलाई स्मरण गर्दै विश्व सिमसार दिवस मनाउन सुरु गरिएको हो ।
रामसार महासन्धिले अन्तर्राष्ट्रिय महत्त्व बोकेका तथा अति संवेदनशील एवं सङ्कटापन्न र खतरापूर्ण जैविक प्रजाति वा पारिस्थितिकीय समुदायलाई आश्रय प्रदान गर्ने सिमसारलाई रामसारको सूचीमा सूचीकृत गर्ने गर्छ । हालसम्म यसमा आबद्ध देशको सङ्ख्या एक सय ७२ पुगेको छ । साथै दुई हजार चार सय २२ सिमसार रामसारको सूचीमा सूचीकृत छन् । सन् १९८७ डिसेम्बर १७ मा कोशीटप्पु वन्यजन्तु आरक्षलाई रामसार क्षेत्रमा सूचीकृत गरेर नेपाल सन् १९८८ अप्रिल १७ देखि रामसार महासन्धिको पक्ष राष्ट्र बनेको हो ।
जनचेतनाको कमी र सूचनाको अभावका कारण मानवीय गतिविधिले सिमसारको अतिक्रमण बढ्दो छ । वन तथा वातावरण मन्त्रालयको निकुञ्ज विभागले दिवसका अवसरमा वन परिसर प्रवेशद्वारमा रहेको होर्डिङ बोर्डमा नारा अङ्कित ब्यानर अनावरण गर्ने गरेको छ । यसबाहेक प्रदेशका वन मन्त्रालय, संरक्षित क्षेत्र र डिभिजन वन कार्यालयले आ–आफ्नो स्तरमा दिवसका विभिन्न कार्यक्रम गरी दिवस मनाउने गरिएको विभागका महानिर्देशक डा बुद्धिसागर पौडेलले जानकारी दिए ।
सिमसार क्षेत्रमा पछिल्लो समय पानीका स्रोत घट्दै गएको उल्लेख गर्दै उहाँले तीनै तहका सरकारको समन्वयमा सिमसार संरक्षणका लागि विद्यमान पोखरीको संरक्षण र नयाँ पोखरीसमेत निर्माण गर्ने काम भइरहेको बताए ।
रामसार सूचीमा हाल नेपालका कोशीटप्पु, घोडाघोडी ताल क्षेत्र, जगदीशपुर जलाशय, बिसहजारी तथा आसपासका ताल, राराताल, फोक्सुन्डो ताल, गोसाइँकुण्ड तथा आसपासका ताल, गोक्यो तथा आसपासका ताल, माईपोखरी र पोखरा उपत्यका विभिन्न ताल सूचीकृत छन् । यी सिमसार क्षेत्रले ओगटेको कूल क्षेत्रफल ६० हजार पाँच सय ६१ हेक्टर छ । सिमसार संसारको सबैभन्दा जैविक विविधता भएको बासस्थानमध्ये एक हो र धेरै लोपोन्मुख प्रजातिको बासस्थान पनि हो । विश्वको ४० प्रतिशत वनस्पति र वन्यजन्तु प्रजाति सिमसारमा बस्छन् वा प्रजनन गर्छन् ।
सिमसार लाखौँ घुमन्ते चरा, माछा, उभयचर, कीटपतङ्ग र बोटबिरुवाका लागि महत्त्वपूर्ण बासस्थान भएको उल्लेख गर्दै महानिर्देशक डा पौडेलले भने, ‘नेपालमा पाइने एक सय ७२ लोपोन्मुख प्रजातिका वनस्पति र प्राणी सिमसारमा आश्रित छन् । नेपालमा पाइने आठ सय ७८ प्रजातिका चरामध्ये सिमसारमा एक सय ९३ प्रजातिका चरा, २० प्रजातिका मेरुदण्ड भएका जीवमध्ये १७ प्रजातिका जीव र सात हजार प्रजातिका वनस्पतिमध्ये २५ प्रतिशत सिमसारमा आश्रित रहेको विभागको तथ्याङ्क छ । त्यस्तै दुई सय ४६ रैथाने फुल्ने प्रजातिका वनस्पति सिमसारमा आश्रित छन् ।’
विश्वको करिब नौ प्रतिशत र नेपालको करिब पाँच प्रतिशत भूभाग सिमसार क्षेत्रले ओगटेको छ । नेपालका तराई, पहाड र हिमाली क्षेत्रमा अन्तर्राष्ट्रिय महत्त्व बोकेका सिमसार क्षेत्र छन् । विश्व संरक्षण सङ्घ नेपालको अभिलेखअनुसार नेपालमा एक सय ६३ सिमसार तराईमा छन् भने ७९ सिमसार हिमाली तथा पहाडी क्षेत्रमा छन् ।
सिमसारले जलवायु परिवर्तन तथा भूविनाशको असरलाई न्यूनीकरण गर्दै पर्यावरणीय सुरक्षाकवच समेत प्रदान गर्दछ । पछिल्लो समय पर्यापर्यटनको गन्तव्य बन्दै गएको सिमसार क्षेत्रमा पाइने चराचुरुङ्गी, वन्यजन्तुको अवलोकनलगायत प्राकृतिक सौन्दर्यको अनुभव पनि यसले उपलब्ध गराएको छ ।
सिमसार क्षेत्र संरक्षणका लागि कानुनी र नीतिगत व्यवस्था
वन मन्त्रालयले सिमसार क्षेत्रका चुनौतीलाई मध्यनजर गरी प्रदेश र स्थानीय तहसँगको समन्वयमा सिमसार क्षेत्र संरक्षणसम्बन्धी विभिन्न कार्यक्रम तथा नीति अघि बढाएको मन्त्रालयका प्रवक्ता विशाल घिमिरेले जानकारी दिए । सिमसार क्षेत्रको दिगो उपयोगबाट तीनै तहका सरकारको सहभागितामा स्थानीयले पाउने लाभको व्यवस्थापन गर्दै आएको उल्लेख गर्दै उनले भने, ‘सिमसारको संरक्षणका लागि स्थानीयमा जनचेतना र जागरणका कार्यक्रम सञ्चालन हुँदै आएका छन्, यसको महत्त्व र संरक्षण बारेमा नयाँ पुस्तामा ज्ञान र सिप हस्तान्तरणका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् ।’
सरकारले सिमसार क्षेत्रको संरक्षणका लागि विभिन्न कानुनी र नीतिगत व्यवस्था गरेको उनले जानकारी दिए । नेपालले संविधान, जलस्रोत संरक्षण ऐन-२०४९, स्थानीय सरकार सञ्चालन ऐन-२०७४, वातावरण संरक्षण ऐन-२०७६, जलचर संरक्षण ऐन-२०१७, राष्ट्रिय सिमसार नीति-२०६९ एवं आवधिक योजनाहरू तथा राष्ट्रिय रामसार रणनीति तथा कार्ययोजनालगायत नीति र कानुनमार्फत सिमसारको संरक्षण, संवर्द्धन र व्यवस्थापनमा वन मन्त्रालयले प्रतिबद्धता जनाउँदै आएको जनाएको छ ।
सिमसारमा जल र जमिनको क्रिया र प्रतिक्रियाबाट जल परिचालन र शुद्धीकरणको प्रक्रिया चलिरहने हुनाले सिमसारलाई प्रकृतिको मिर्गौला पनि भन्ने गरिन्छ । सिमसारले वस्तु र सेवा प्रदान गर्नुका साथै पानीका स्रोत संरक्षण गर्छ । पानीको गुणस्तर कायम राख्न, जलचक्र र जलवायुलाई नियमित गर्न तथा तापमानलाई सन्तुलन गर्न पनि सिमसारको महत्त्व छ । तसर्थ यसको संरक्षणमा सबैको हातेमालो आवश्यक छ ।











