सल्यान । सल्यानको शारदा नगरपालिका-२ खलंगास्थित सिँचाइ कार्यालय नजिकै खलंगा–श्रीनगर सडक खण्डमा अटो दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार सोमबार दिउँसो करिब २ बजे श्रीनगरबाट खलंगातर्फ आउँदै गरेको रा १ ह २१९५ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको हो ।
दुर्घटनामा घाइते भएका १० जनामध्ये दुई जनाको अवस्था गम्भीर, तीन जनाको अवस्था मध्यम तथा पाँच जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । सबै घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल सल्यान पठाइएको छ ।
अटो चालक शारदा नगरपालिका–६ निवासी २५ वर्षीय अर्जुन डाँगीलाई भने कुनै चोट नलागेको र उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । चालकसँग सवारी चालक अनुमतिपत्रसमेत नभएको प्रहरीको भनाइ छ ।
घाइते हुनेहरूमा सल्यान सिद्धकुमाख गाउँपालिका-२ का ३५ वर्षीय दीपक विक, शारदा नगरपालिका-११ का १९ वर्षीय रेशमबहादुर नेपाली, सिद्धकुमाख गाउँपालिका-१ का ७८ वर्षीय टरबहादुर रेउले, बनगाड कुपिण्डे नगरपालिका-९ की २३ वर्षीया संगिता विक, उनका ७ वर्षीय छोरा दीपक र ३ वर्षीया छोरी सृष्टि, दाङको बबई गाउँपालिका-६ की २३ वर्षीया कृष्णा बुढाथोकी र उनकी ३ वर्षीया छोरी स्मृति, सिद्धकुमाख गाउँपालिका-२ की ३८ वर्षीया धनी सुनार तथा सोही स्थानकी ३९ वर्षीया पुष्पा सुनार रहेका छन् ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।











