काठमाडौं । नागरिक उड्डयन प्राधिकरणअन्तर्गत हवाई सुरक्षा निर्देशकको विवादास्पद सरुवा गरेपछि निमित्त महानिर्देशक देवचन्द्र लाल कर्ण विवादमा परेका छन् । निमित्त महानिर्देशक कर्णले करिब एक साताअघि सुरेश साहलाई नागरिक उड्डयन हवाई सुरक्षा विभागको निर्देशकमा सरुवा गर्ने निर्णय गरेपछि विवादमा परेका हुन् ।

साह पेसाले रेडियो इन्जिनियर हुन् र यसअघि तालिम केन्द्रमा कार्यरत थिए । तर, कानुनअनुसार हवाई सुरक्षा विभागमा एयर ट्राफिक कन्ट्रोलर सेवा समूहबाहेक समूहका कर्मचारीलाई जिम्मेवारी दिन नपाइने व्यवस्था छ ।
उक्त सरुवालाई नियमविपरीत र उड्डयन सुरक्षाका लागि जोखिमपूर्ण भन्दै नेपाल हवाई यातायात नियन्त्रक संघ (नाट्का) र नेपाल राष्ट्रिय कर्मचारी संगठनले कडा आपत्ति जनाएका थिए । दुवै संगठनले निर्णय तत्काल पुनरावलोकन वा खारेज गर्न संयुक्त रूपमा माग गर्दै आएका थिए ।
नाट्काका अनुसार संवेदनशील एभिएसन सेफ्टी निर्देशक पदका लागि उच्च प्राविधिक अनुभव, योग्यता र संस्थागत ज्ञान आवश्यक हुन्छ । यसमा गैरसम्बन्धित सेवा समूहका कर्मचारीलाई जिम्मेवारी दिनु उड्डयन सुरक्षा प्रणालीमा नकारात्मक असर पार्ने सम्भावना रहेको भन्दै कर्णको विरोध गरेका छन् ।
संगठनहरूले महानिर्देशक कर्णसमक्ष तत्काल निर्णय पुनरावलोकन वा खारेज गर्न, नियमअनुसार योग्य, अनुभवी कर्मचारीलाई मात्र जिम्मेवारी दिन, र भविष्यमा यस्तो मनपरी निर्णय नदोहोर्याउने स्पष्ट नीति अपनाउन माग गरेका थिए ।
यदि प्राधिकरणले पहल नगरेमा कर्मचारी संगठनहरूले वैधानिक, संस्थागत र पेशागत सबै कदम चाल्न बाध्य हुने चेतावनी पनि दिएका थिए । उक्त सरुवा व्यक्तिगत मुद्दा नभई प्रणालीगत र संस्थागत समस्या भएको कर्मचारी संगठनले उड्डयन सुरक्षामा कुनै सम्झौता स्वीकार्य नाट्काले एभिएसन सेफ्टी निर्देशकजस्तो संवेदनशील पदमा गैरसम्बन्धित सेवा समूहका कर्मचारीलाई जिम्मेवारी दिनु नागरिक उड्डयन प्राधिकरण कर्मचारी नियमावली, २०६६ को उल्लंघन भएको उल्लेख गरेको थियो ।
निमित्त महानिर्देशक कर्ण नागरिक उड्डयन प्राधिकरणका १२ औँ तहका कर्मचारी हुन् । प्रदीप अधिकारीलाई भ्रष्टचारको मुद्धा लागेर थुनामा गएपछि कर्णलाई जिम्मेवारी दिइएको थियो । तर कर्णले कर्मचारी सरुवामा मनोमानी गर्न थालेको र सुशासन विपरित कार्य गरेको भन्दै त्यहीका कर्मचारीले आलोचना गरेका छन् । कर्मचारीको विरोधपछि कर्णले त्यो निर्णय फिर्ता लिने भन्दै कर्मचारीलाई सम्झाउने कोसिससमेत गरेका एक कर्मचारीले बताए ।











