
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक दाङ- २ पनि रहेको छ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेल यस क्षेत्रबाट उम्मेदवार बनेका कारण यस क्षेत्रको चर्चा रहेको छ ।
दाङ-९२ बङ्गलाचुली गाउँपालिकाका सबै वडा, घोराही उपमहानगरपालिकाको वडा नम्बर ४ र वडा नम्बर ६ देखि १९ सम्म र तुलसीपुर उपमहानगरपालिकाका वडा नम्बर १६ देखि १९ वडासम्म समेटिएको छ ।
निर्वाचन आयोगका अनुसार दाङ २ मा यस निर्वाचनमा मतदान गर्न सक्ने कुल मतदाताको सङ्ख्या एक लाख ४० हजार ९६५ जना रहेका छन् । यस क्षेत्रमा यस निर्वाचनमा १५५ मतदान केन्द्र तोकिएको छ ।
पछिल्लो निर्वाचन- २०७९
२०७९ को निर्वाचनमा यस क्षेत्रबाट तत्कालीन माओवादी केन्द्रकी रेखा शर्मा विजयी भएकी थिइन् । शर्माले काँग्रेसको समर्थनमा २६ हजार ८८० मत प्राप्त गरेकी थिइन् । त्यस्तै एमाले महासचिव शङ्कर पोखरेलले २६ हजार ६८७ मत प्राप्त गरेर दोस्रो स्थानमा रहेका थिए । त्यस्तै रास्वपाका विशाल अधिकारीले १५ हजार ८६१ मत प्राप्त गरेका थिए ।
त्यस्तै २०७९ मा समानुपातिकतर्फ यस क्षेत्रमा एमालेले सबैभन्दा बढी २६ हजार ५६८ मत प्राप्त गरेका थिए । त्यस्तै नेपाली काँग्रेसले १९ हजार ५९१ मत पाएको थियो भने रास्वपाले १३ हजार ३३ मत पाएको थियो । त्यस्तै तत्कालीन माओवादी केन्द्रले १० हजार ८२० मत पाएको थियो ।
उम्मेदवार
दाङ-२ बाट यस पटक राजनीतिक दल र स्वतन्त्र गरेर कुस २३ उम्मेदवार चुनावी मैदानमा रहेका छन् । नेकपा एमालेबाट यस पटक पनि महासचिव शङ्कर पोखरेल उम्मेदवार बनेका छन् । त्यस्तै यस पटक काँग्रेसले किरण किशोर घिमिरेलाई उम्मेदवार बनाएको छ । त्यस्तै गत चुनावमा जित हासिल गरेकी रेखा शर्मा भने यस पटक उम्मेदवार बनेकी छैनन् ।
यस पटक नेकपाबाट निर्मल आचार्य उम्मेदवार बनेका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट सहमहामन्त्री विपिन आचार्य उम्मेदवार बनेका छन् ।
असली परीक्षा
यस पटक सबै दल अलग अलग चुनाव लडेका कारण दल र उम्मेदवारको असली परीक्षा हुने देखिएको छ । गत निर्वाचनमा काँग्रेस-माओवादी केन्द्रको गठबन्धनका कारण एमाले महासचिव पोखरेल १९३ मत अन्तरले मात्र पराजित भएका थिए । समानुपातिक मत तर्फ स्पष्ट रूपमा एमालेको मत धेरै रहेको थियो । यस पटक उनलाई अहिलेको नेकपाबाट कुनै चुनौती नरहेको देखिन्छ । तर उनलाई काँग्रेस र रास्वपाले भने कडा चुनौती दिने देखिएको छ । देशव्यापीरुपमा एमालेप्रति देखिएको नकारात्मक धारणाको असर पनि उनलाई हुने देखिन्छ ।
विशेष महाधिवेशनमार्फत नेतृत्व र नीति परिवर्तन गरेको भन्दै काँग्रेसले मतदातालाई आकर्षित गर्ने प्रयास गरिरहेको छ । त्यस्तै रास्वपाले पनि देशव्यापी लहरको फाइदा उठाउँदै पोखरेललाई चुनौती दिने प्रयास गरिरहेको छ । तर पनि स्थानीय मुद्दा र विकास निर्माणका मुद्दामा पहिलो पटक चुनाव लडिरहेका रास्वपा नेता आचार्यले कसरी मतदातालाई आकर्षित गर्छन् भन्ने हेर्न बाँकी छ । यसरी गर्दा दाङ-२ मा गत निर्वाचनको विजेता प्रतिष्पर्धामा नहुँदा पोखरेलसहित काँग्रेसका घिमिरे र रास्वपाका आचार्यबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।











