Logo
Logo

आत्तिँदै ओलीको फोन- सहकार्य गरौँ


3.7k
Shares

काठमाडौं । फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा पुराना दलका शीर्ष नेता र नयाँ दलका उदयमान नेताहरूबिच कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ । संसदीय राजनीतिका ठुला दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले)सँगै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नयाँ दलका नेताहरूबीचको प्रतिस्पर्धाले निर्वाचनलाई रोचक बनाउँदै लगेको छ ।

निर्वाचन आयोगमा दर्ता भएका दल र उम्मेदवारहरूको संख्याले यसपटकको चुनावलाई विगतको भन्दा फरक बनाएको छ । धेरै दल र स्वतन्त्र उम्मेदवारको उपस्थितिले ठूला दलको मत विभाजन हुने सम्भावना रहेको छ । जसले गर्दा कुनै एक दलको बहुमत आउने सम्भावना देखिँदैन ।

जेनजी विद्रोहले ल्याएको निर्वाचनको वातावरणलाई आफ्नो पक्षमा तान्न धेरैले स्वतन्त्र उम्मेदवारी दिए पनि युवा पंक्तिमा रास्वपाको आकर्षण बढ्दो छ । रास्वपाका प्रधानमन्त्रीका उम्मेदवार बालेन साहले जेनजीको माग सम्बोधन गर्लान् भन्ने विश्वासले पनि रास्वपाको ‘क्रेज’ बढेको हो । जसले गर्दा देशैभर कांग्रेस, एमाले र नेकपालाई रास्वपा चुनौती बन्ने देखिन्छ ।

त्यसमाथि झापा ५ बाट बालेनले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेकाले ओली गल्न थालेका छन् । झापामा बालेनको माहौल देखेपछि ओलीमा छटपटी बढेको छ । उनले सामाजिक सञ्जालमार्फत आफूले जेनजी विद्रोहमाथि दमन नगरेको र १९ जना बालबालिकाको हत्या नगरेको प्रचार गरेर रक्षात्मक अवस्थामा पुगेका छन् ।

विगतमा राप्रपासँग सहकार्य गर्दै आएका ओलीलाई यसपटक राप्रपाले साथ नदिने भएपछि उनले काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार उनीहरूबिच आइतबार साँझ निर्वाचन केन्द्रित छलफल भएको थियो । त्यसअघि ओलीले नेकपाका संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाललाई फोन गरेर सहकार्य गर्न आग्रह गरेको कुरा बाहिरिएको छ । यसबाट पनि ओलीको पराजित मानसिकता बुझ्न सकिन्छ ।

जेनजी विद्रोहका कारण ओली मात्र होइन, सिंगो एमाले उम्मेदवारहरू युवाहरूको तारो बनेका छन् । यसरी हेर्दा फागुन २१ को निर्वाचन पुराना र नयाँ राजनीतिक शक्तिबीचको कडा प्रतिस्पर्धाको रूपमा देखिएको छ ।

संकटको समाधान खोज्दै नेताहरू
एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच सहकार्यको विषयमा छलफल चलेको बताइन्छ । आइतबार राती ओली, देउवा र प्रचण्डबीच भेटघाट भएको र यादवसँग पनि टेलिफोनमा कुराकानी भएको स्रोतको दाबी छ । अहिलेको निर्वाचनमा ओली, प्रचण्ड र यादवले देउवासँग सहयोग मागेको स्रोतको दाबी छ ।

झापा–५ मा चुनाव लडिरहेका ओलीसँग काठमाडौं, महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र साहले प्रतिस्पर्धा गरिरहेका छन् । सप्तरीमा क्षेत्र ३ मा उपेन्द्र यादव चुनाव लडिरहेका छन् । उनीहरु दुवैलाई अहिले रास्वपाका उम्मेदवारले चुनौती दिइरहेका बेला देउवाको सहयोग मागेको स्रोतको दाबी छ ।

गगन थापा सभापति भएपछि देउवा समूहका धेरै नेताहरूलाई चुनावबाट वञ्चित गरेको अवस्थामा एमाले, नेकपा र जसपा तीन वटै दलले आफ्ना शीर्ष नेताहरूलाई जिताउनका लागि देउवाको साथ खोजेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार आइतबार साँझ एमाले अध्यक्ष ओली, नेपाली काँग्रेसका निवर्तमान सभापति देउवा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डबीच भएको भेटघाटमा राजनीतिक परामर्शमा मात्र होइन निर्वाचनमा एक अर्कालाई सहयोग गर्न समेत आग्रह गरिएको थियो ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रमा राखेर भएको उक्त भेटमा सम्भावित चुनावी गठबन्धनका विषयमा गम्भीर छलफल भएको बताइएको छ । स्रोतका अनुसार भेटमा अध्यक्ष ओलीले अहिलेको चुनावमा एमालेले जित्नसक्ने ठाउँमा सहयोग गर्न आग्रह गरेका थिए । झापा ५ मा नेकपाको तर्फबाट रन्जित तामाङले उम्मेदवारी दिएका छन् ।

उता रुकुमपूर्वमा एमालले प्रचण्डलाई चेक एन्ड व्यालेन्समा राख्नका लागि प्रलोपाका सन्दीप पुनलाई सहयोग गर्ने सहमति गरेका छन् । रुकुममा एमालेले जनार्दनको पार्टी प्रलोपालाई सहयोग गर्दा र रास्वपाले मत बढाउँदा प्रचण्डका लागि कठिन जस्तो देखिदा समस्या उत्पन्न हुनसक्ने आँकलन गरिएको छ । चुनाव सुरु भएपछि ओली र प्रचण्डले एकअर्कालाई आरोप–प्रत्यरोप गरेका छैनन् । उनीहरूबिच व्यक्तिगत रूपमै आरोप–प्रत्यारोप चलिरहेको पछिल्लो सन्दर्भमा चुनावी माहौल तातिएपछि रोकिएको घटनाले पनि अन्ततः सहकार्य हुनसक्ने अनुमान गर्न सकिन्छ ।

जेनजी आन्दोलनपछि एमाले र नेकपाबीच थप दुरी बढेको थियो । केही समयअघि प्रचण्ड भारत भ्रमणमा जाने बेला ओलीसँग भेटघाट भएको थियो । ओलीका अभिव्यक्तिका कारण चुनावमा एमालेसँग सहकार्यको सम्भावना नभएको नेकपाका नेताहरूले बताइरहेपछि पछिल्लो भेटघाटले राजनीति नयाँ चरणतिर प्रवेश गरेको हो कि भन्ने आशंका गर्न सकिन्छ ।

झापा ५ः ओली भर्सेस बालेन
नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली २०४८ सालदेखि चुनाव लड्दै आएको झापा क्षेत्र नम्बर ५ मा यसपटक काठमाडौंका मेयरबाट राजीनामा दिएका बालेन्द्र साह (बालेन)को उपस्थितिले चुनावी माहौल तातिएको छ । निरन्तर जित्दै आएका ओलीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीको रूपमा अघि सारेका बालेन प्रतिस्पर्धामा उत्रिएपछि कडा चुनौती थपिएको छ । जेनजी आन्दोलन दबाएको आरोपमा ओली सयपटक चुनावी प्रतिस्पर्धाको सामना गरिरहेका छन् ।

२०६४ सालको संविधान सभा निर्वाचनबाहेक सबै चुनावमा सहज जित हासिल गरेका ओलीका लागि यसपटक अवस्था सहज छैन । बालेनको उपस्थितिले मात्र होइन, एमालेभित्र देखिएको आन्तरिक असन्तुष्टि पनि ओलीका लागि अर्को चुनौती बनेको छ । नेतृत्वको कार्यशैलीप्रति असन्तुष्ट नेताहरू खुलेर बोल्ने आँट नगरेपनि ओलीका लागि बालेन पहाड बराबर चुनौती बनेका छन् । रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्दै झापामा पठाएकोलाई पार्टीले ‘गौरवको विषय’ भनेको छ । उता एमाले नेतृत्व भने आफ्नो संगठन बलियो रहेको दाबी गर्दै बालेनको आगमनले परिणाममा खास असर नपर्ने दाबी गर्दै आएको छ ।

विगतमा ओलीलाई माओवादीका विश्वदीप लिङदेनले पराजित गरेका थिए । तत्कालीन माओवादीबाट ओलीलाई पराजित गरेपछि राष्ट्रिय राजनीतिमा उदाएका लिङदेन गुमनाम छन् । यसपटक झापा–५ मा कडा प्रतिस्पर्धा हुँदा हारजित जसको भएपनि थोरै मतान्तरको हुने विश्लेषण गरिएको छ । ओलीसँग स्थानीय भएको सुविधा छ, पटक पटक जितेका कारण देखाउनका लागि गरेका कामहरू भएपनि बालेनसँग युवा जोश जाँगर भएका कारण प्रतिस्पर्धा राम्रो हुने झापाली बुद्धिजीवीहरूको दाबी छ । सुरक्षा अंग मध्ये राष्ट्रिय अनुसन्धानको प्रारम्भिक रिपोर्ट ओलीको पक्षमा छैन । विभागले गृहमन्त्रालयलाई दिएको रिपोर्टमा कडा प्रतिस्पर्धाबाट बालेनको आगमन उल्लेख गरेको स्रोतको दाबी छ ।

सर्लाही ४ मा गगन भर्सेस अमरेश
बालेन साह प्रधानमन्त्री नबने आत्मदाह गर्छु भन्दै प्रपोगाण्डा फैलाएका रास्वपाका उम्मेदवार अमेरेश सिंहले नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सर्लाही ४ मा चुनौती दिइरहेका छन् । काठमाडौको क्षेत्र नं ४ छाडेर सर्लाही क्षेत्र नं ४ पुगेका सभापति थापालाई त्यहीका स्थानीयले चुनौती दिएका हुन् । काठमाडौँ ४ बाट लगातार तेस्रोपटक सांसद चुनिएका थापा चौथोपटकका लागि मधेस झरेका हुन् ।

थापा उठेको सर्लाही ४ नेपाली कांग्रेसको गढ मानिन्छ । २०४८ सालदेखि लगातार तीनपटक २०५६ सालसम्म यहाँ कांग्रेस उम्मेदवारले नै जितेका थिए । २०६४ सालमा भने कांग्रेसको गढ मधेसी जनअधिकार फोरमले खोस्यो । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका अमरेशकुमार सिंहले विरासत फर्काए । २०७० पछिका दुईवटा निर्वाचन लगातार जितेर कांग्रेसको विरासत जोगाएका सिंह २०७९ सालको चुनावमा भने कांग्रेसमा रहेनन् । कांग्रेसबाटै बागी बनेका सिंहले कांग्रेस उम्मेदवार नागेन्द्र राय यादवलाई पराजित गरेका थिए ।

रुकुम पूर्वः प्रचण्ड भर्सेस सन्दीप पुन
हरेक निर्वाचनमा क्षेत्र परिवर्तन गर्दै जित्दै आएका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक ‘प्रचण्ड’ यसपालि सुरक्षित स्थान खोज्दै रुकुमपूर्व पुगेका छन् । उनलाई यसपटक जनयुद्धका शहिदपुत्र सन्दीप पुनले चुनौती दिएका छन् । एमालेको समेत समर्थनमा पुनले प्रचण्डलाई चुनौती दिएका हुन् । संसदीय राजनीतिमा आएपछि प्रचण्डका लागि यो पाँचौँ निर्वाचन हो । संसदीय राजनीतिमा विरलै देख्न पाइने अभ्यास प्रचण्डले गरेका छन् । अर्थात् उनले हरेक निर्वाचनमा क्षेत्र बदल्दै आएका छन् ।

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको रुकुम पूर्वमा २०७९ सालको निर्वाचनमा तत्कालीन माओवादी केन्द्रका नेता एवं लुम्बिनी प्रदेशका पूर्वसभामुख पूर्णबहादुर घर्ती विजयी भएका थिए । घर्तीले एमालेका कैलाशकुमार मल्ललाई ३ हजार ९४९ मतान्तरले पछि पार्दै चुनाव जितेका थिए । घर्तीले १२ हजार २६२ मत पाउँदा मल्लले ५ हजार २११ मत पाएका थिए भने स्वतन्त्र उम्मेदवार चन्द्रराज झाँक्रीले ८९६ मत मात्रै प्राप्त गरेका थिए ।

रूकुम पूर्व प्रचण्डका लागि आधार इलाकाजस्तै हो । यसअघि भएका चारवटा निर्वाचनमा यहाँबाट लगातार माओवादीले जितेको थियो । यहाँ जनयुद्धको स्मृति अझै ताजा छ । धेरै परिवार प्रत्यक्ष रूपमा त्यस आन्दोलनसँग जोडिएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले ’जनयुद्ध’को आधारभूमि र सहयोद्धाहरूलाई भुल्न नसकेर आफू यसपालि रुकुम पूर्व आएको बताउँदै आएको बताउँदै गर्दा पुनको चुनौतीमा प्रचण्ड मौन रहेका छन् । माओवादी आन्दोलनको केन्द्र रहेकाले रुकुमप्रति प्रचण्डको विश्वास छ तर, यसपटकको चुनाव त्यति सहज भने छैन । विगतमा अन्य क्षेत्रबाट संसद्मा पुगेका प्रचण्डका लागि रुकुम पूर्वबाट प्रत्यक्ष निर्वाचनमा उत्रिनु राजनीतिक रूपमा परीक्षणजस्तै बनेको छ ।

रौतहट १ः माधव भर्सेस अनिल
नेकपाका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधव नेपाललाई यसपटक एमालेका अजकुमार गुप्ता र कांग्रेसमा अनिल झाले चुनौती दिएका छन् । ०७९ सालमा नेकपा एकीकृत समाजवादीबाट निर्वाचन जितेका नेपालले यसपटक पनि निर्वाचन लड्न रौतहट १ नै रोजेपछि उनलाई गुप्ता र झा चुनौती बनेका हुन् ।

गत निर्वाचनमा पनि रौतहट १ मा नेपालको प्रतिस्पर्धा एमाले नेता गुप्तासँगै भएको थियो । त्यतिबेला नेपाल ३३ हजार पाँच सय २२ मतसहित प्रतिनिधि सभा सदस्यमा विजयी हुँदा गुप्ताले २६ हजार ९ सय २२ मत ल्याएका थिए । गत निर्वाचनमा यो क्षेत्रबाट जनमत पार्टीका राजेन्द्रप्रसाद साहले १४ सय ११ मत ल्याएका थिए ।

रौतहट १ मा गौर नगरपालिका, राजदेवी नगरपालिका, माधवनारायण नगरपालिका, दुर्गा भगवती गाउँपालिका र यमुनामाई गाउँपालिकाका सबै वडा तथा गढीमाई नगरपालिकाका ३ वटा र गरुडा नगरपालिकाका एउटासहित कुल ४१ वटा वडा पर्छन् ।

त्यसमध्ये, २०७९ सालको स्थानीय तह निर्वाचनमा २२ वटा वडामा हालको नेकपा, ९ वटा वडामा नेपाली कांग्रेस, ६ वटा वडामा जसपा नेपाल, ३ वटा वडामा नेकपा एमाले र एउटा वडामा स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष जितेका थिए ।

जसले गर्दा नेपाललाई यसपटक अलि सहज रहेपनि कांग्रेसले अनिल झालाई उम्मेदवार बनाएपछि चुनौती थपिएको हो । त्यति मात्र होइन, बहुसंख्यक मतदाता रहेको गौर नगरपालिकाको नगर प्रमुख तथा उपप्रमुख, राजदेवी नगरपालिकाको नगर प्रमुख र उपप्रमुख, दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षसमेत नेपाल आबद्ध रहेकोले नेपालको स्थान सुरक्षित मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्