Logo
Logo

काठमाडौं-३ को चुनावी गणित, कुलमानलाई चुनौती


693
Shares

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक काठमाडौँ-३ पनि रहेको छ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले यस क्षेत्रबाट उम्मेदवार बनेका कारण यस क्षेत्रको चर्चा रहेको छ ।

काठमाडौँ क्षेत्र नम्बर ३ संसदीय क्षेत्रमा गोकर्णेश्वर नगरपालिकाका सबै ९ वटा वडा, कागेश्वरी मनोहरा नगरपालिकाका वडा नम्बर १, २ र ३ तथा काठमाडौँ महानगरपालिकाको वडा नम्बर ६ रहेका छन् ।

निर्वाचन आयोगका अनुसार काठमाडौँ-३ मा यस निर्वाचनमा मतदान गर्न सक्ने कुल मतदाताको सङ्ख्या ६४ हजार ४७९ जना रहेका छन् । यस क्षेत्रमा यस निर्वाचनमा ७२ मतदान केन्द्र तोकिएको छ ।

पछिल्लो निर्वाचन- २०७९ 

२०७९ को निर्वाचनमा यस काठमाडौँ-३ बाट नेपाली काँग्रेसका सन्तोष चालिसे विजयी भएका थिए । चालिसेले १५ हजार १५८ मत प्राप्त गरेका थिए । त्यस्तै नेकपा एमालेका कृष्ण बहादुर राईले ११ हजार १९६ मत प्राप्त गर्दै दोस्रो भएका थिए । त्यसैगरि रास्वपाका दुर्गा विक्रम थापाले ५ हजार ८६५ मत प्राप्त गरेका थिए ।

त्यसैगरी २०७९ को समानुपातिकतर्फ नेपाली काँग्रेसले १० हजार ६१९ मत प्राप्त गरेको थियो भने नेकपा एमालेले ९ हजार ४४९ मत प्राप्त गरेको थियो । त्यसैगरी रास्वपाले ९ हजार २१८ मत प्राप्त गरेको थियो भने राप्रपाले ४ हजार ९६० मत प्राप्त गरेको थियो ।

अहिलेको निर्वाचन

यस क्षेत्रमा यस पटक राजनीतिक दल र स्वतन्त्र गरेर २२ उम्मेदवार रहेका छन् । काठमाडौँ-३ मा उज्यालो नेपाल पार्टीबाट अध्यक्ष कुलमान घिसिङ उम्मेदवार बनेका छन् । त्यसैगरी नेपाली काँग्रेसले यस पटक रमेश अर्याललाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेले रामेश्वर फुयाललाई उम्मेदवार बनाएको छ । त्यसैगरी रास्वपाले काठमाडौँ महानगरका पूर्व प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई उम्मेदवार बनाएको छ । त्यस्तै नेकपाले यस क्षेत्रमा निरज लामालाई उम्मेदवार बनाएको छ ।

काठमाडौँ-३ मा अघिल्लो निर्वाचनको भन्दा यस पटकको समीकरण बदलिएको छ । पहिलोप कुरा त यस पटक कुनै दलबीच गठबन्धन छैन र सबै दलका आ-आफ्ना उम्मेदवार छन् । दोस्रो नेपाली विद्युत् प्राधिकरणको प्रमुख हुँदै उर्जामन्त्रीसम्मको यात्रा तय गरेका कुलमान घिसिङको उम्मेदवारीले पनि यस क्षेत्रप्रति धेरैको नजर छ । नयाँ दल भएकाले सङ्गठनको शक्ति भन्दा पनि कुलमानले व्यक्तित्वका आधारमा यो चुनाव लडेका छन् । धेरै कुरा उनी विरुद्ध देखिएको छ । उनको रास्वपा प्रवेश र १२ दिनमै बहिर्गमनले उनमा सत्ता मोह र फेरी सरकारमा पुग्न अलि हतार गरिरहेको महसुस धेरैले गरिरहेका छन्  । साथै उनले अरूको नेतृत्व नस्विकार्ने र आफै हुनुपर्ने भन्ने अडानपनि उनी विरुद्ध गइरहेको विश्लेषण गरिएको छ । उनले विगतमा गरेका काम उत्कृष्ट थिए भन्नेमा कुनै शङ्का छैन तर राजनीतिमा राजनीतिक मुभ पनि सोहि अनुसार मिल्यो भन्ने बल्ल सफल हुन सकिन्छ ।

त्यस्तै रास्वपाले काठमाडौँ महानगर प्रहरीका पुर्व प्रमुख राजुनाथ पाण्डेलाई मैदानमा उतारेको छ । उनले बालेन शाहले महानगरबाट छोड्नु अघि नै राजीनामा दिएर चुनावी मैदानमा होमिएका छन् । रास्वपाको माहोल बनिरहेको र बालेनसँगको उनको निकटतालाई काठमाडौँ९ ३ का मतदाताले कसरी लिन्छन्, त्यो भने हेर्न बाँकी छ । तर उनको कुलमानसँग प्रतिस्पर्धा रहेकाले त्यति सहज भने देखिदैन ।

त्यसैगरी परम्परागत भोट बैङ्क रहेका काँग्रेस र एमाले आफैमा बलियो रूपमा उपस्थित छन् । टोल तहसम्म सङ्गठन र यस पटक दुवै दलले नयाँ उम्मेदवार बनाएको अवस्थामा यस क्षेत्रमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । घिसिङ र पाण्डे दुवैलाई कांग्रेस९ एमालेको सङ्गठनात्मक शक्ति तोड्न ठुलै मिहिनेत गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्