Logo
Logo

झुटो साम्यवादी सपना


भुपेन्द्र थापा ‘माधव’

252
Shares

सहिदको रातो अनि तातो
रगतको टिका लगाएर,
समाजवाद र साम्यवादको
सपना बटुल्दै हिँड्ने क्रान्तिकारी योद्धाहरू
आज छाना, नाना र खानाको
खोजीमा उडान भर्दै,
खाडीको तातो मरभूमिमा
भोका, नाङ्गा चल्लाका आहारा बटुल्दै छन् ।

मुक्तिका लागि मृत्यु रोज्ने महान् योद्धाहरू
स्वाधीनता र सार्वभौमिकताको लागि
रगत पोख्ने लाल रक्षकहरू
जीवनका लागि हात फैलाउँदै
भोक,रोग र अभाव छल्न
परदेशीन बाध्य छन् ।
हजारौँ महान् सहिदहरूका रगतले
लतपतिएका छिर्काहरू पखाल्न
वर्गीय ती राता मान्छेहरू
तातो मरभूमिमा पसिनाका थोपा–थोपा बटुल्दै छन् ।

साम्यवादको मलिनो माटोमा
क्रान्तिकारी परिवर्तनको
उन्नत बीउ छर्नेहरू
विषाक्त कोर्रा,रासायनिक
यातना र गोलीका वर्षाले
नझुकेका योद्धाहरू
झुट,लुट र गुटको
लङ्कामा बिचार,
सिद्धान्त र आदर्शको कत्लेआम हुँदा
वर्गीय दुस्मनका हतियाले
नढलेका योद्धाका
सपना र सहासहरु
लाल बधशालामा निर्ममता
पूर्वक रेटिरहेका छन्।

रित्तिएको काख,पुछिएको
सिउँदो र घाइते वेपत्ताका सन्ततिले
दुःख,कष्ट र असमानताको मुसलधारे आँसुको
वर्षा र पहिरोले पुरिएका क्षतविक्षत
आशा एवं भरोसाको पोका,पन्तरा बटुल्दै छन् ।

विचार, सिद्धान्त र आदर्शको
एउटै चिहान खन्नेहरू
बुर्जुवा लोकतन्त्रको युद्ध मोर्चामा,
ढलेका विचारहीन लासहरू
माक्र्सवाद,लेनिनवाद र माओवादको
सुन्दर विचारलाई संसदीय कात्रो वनाउनेहरु
साम्राज्यवाद र विस्तारवादी
चिता माथि लम्पसार पर्नेहरू
लुटको लङ्कामा स्वर्गको
सिंहासन बटुल्दै छन्।

आखिर कसले के बटुल्यो ?
शासकले कुशासन र स्वार्थ बटुल्यो ।
मुलुकले भ्रष्टाचारी,बेरोजगारी,विकृति सहित बेथिति बटुल्यो।
शोषित,पीडित जनताले विभेद, वेदना र बिछोडको पीडा बटुले।
क्रान्तिको कमण्डलु बोक्ने लाल अघोरीले सत्ताको स्वर्ग बटुले।
देशले ध्वंस,विनाश,लुटपाट,अराजकता
सहित विकास र समृद्धिको आँगनमा खरानीको थुप्रो बटुल्यो।

प्रतिक्रिया दिनुहोस्