काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले मुलुकमा दुई प्रकारका अतिवाद हाबी भएको जनाएको छ ।

मंगलबार केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा निर्वाचन प्रचार समिति संयोजक अग्निप्रसाद सापकोटाले जनताको आवाज दबाउन आन्दोलनमा चरम दमन गर्ने तथा राष्ट्रिय सम्पदामाथि आक्रमण गर्ने प्रवृत्तिलाई अतिवादका रूपमा व्याख्या गरे । उनले भने- ‘यी दुवै अतिवाद हाम्रो लोकतन्त्र, राष्ट्रिय स्वाधीनता, राजनीतिक स्थिरता र समृद्धिका लागि गम्भीर रूपमा हानिकारक छन् ।’
मुलुक संवेदनशील परिस्थितिका बीच निर्वाचन प्रक्रियाबाट गुज्रिरहेको उल्लेख गर्दै नेकपाले जेनजी आन्दोलनपछि उत्पन्न अवस्थालाई सामान्य बनाउन इमानदार प्रयास भइरहेको जनाएको छ । सरकारले निर्वाचन घोषणा गरेपछि नेकपाले नै निर्वाचन हुनुपर्ने अडान लिएको सापकोटाले बताए ।
“सबै पक्षको सामूहिक प्रयासबाट देश आज निर्वाचनको निर्णायक चरणमा पुगेको छ । संविधान जारी भएपछि शासकीय सुधार, निर्वाचन प्रणाली, उन्नत संघीय लोकतान्त्रिक गणतन्त्र, सुशासन, सामाजिक न्याय, आत्मनिर्भर अर्थतन्त्र, उत्पादन र रोजगारी सिर्जना जस्ता हामीले निरन्तर उठाउँदै आएका एजेन्डा अहिले सबैका साझा एजेन्डा बनेका छन्,” विज्ञप्तिमा भनिएको छ ।
निर्वाचन विथोल्न चाहने शक्तिहरू सक्रिय रहेको दाबी गर्दै सापकोटाले स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए ।
निर्वाचनका सन्दर्भमा पार्टीले आफ्नो प्रतिबद्धता र कार्ययोजना सार्वजनिक गरिसकेको उल्लेख गर्दै नेकपाले त्यसको गम्भीर अध्ययन गर्न, सबै राजनीतिक दलहरूको मूल्यांकन गर्न, विवेकपूर्ण निर्णय लिन तथा उपलब्धिहरूको रक्षा गर्दै परिवर्तन, स्थायित्व र समृद्धिको पक्षमा उभिन मतदातालाई आग्रह गरेको छ ।












