काठमाडौं । नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी ले आज चुनावी सभा आयोजना गर्दै छन्।
कांग्रेसले जनकपुर बाट प्रदेशस्तरीय सभा सुरु गर्दैछ भने रास्वपाले धनगढी बाट आफ्नो कार्यक्रम प्रारम्भ गर्दैछ। जनकपुरमा हुने सभालाई कांग्रेसले ‘प्रतिज्ञा सभा’ नाम दिएको छ। सोही सभाबाट कांग्रेसले आज आफ्नो घोषणापत्र सार्वजनिक गर्नेछ।

घोषणापत्रमा ‘भिजन–१०’ घोषणा गर्ने तयारी कांग्रेसले गरेको छ। सभामा सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत केन्द्रीय तहका प्रमुख नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ। मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवका अनुसार, यो सभा केवल राजनीतिक कार्यक्रम मात्र नभई मधेशको स्वाभिमान, समावेशी लोकतन्त्र र राष्ट्रिय एकताको सन्देश दिने ऐतिहासिक अवसरका रूपमा लिइएको छ।
सभामा मधेश प्रदेशका सबै निर्वाचन क्षेत्रबाट एक लाखभन्दा बढी मतदाताको सहभागिता हुने अपेक्षा गरिएको छ। जनकपुरबाट सार्वजनिक गरिने प्रतिज्ञापत्रबारे दिउँसो ४ बजे केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनमार्फत जानकारी दिइनेछ। त्यसअघि निर्वाचन तयारी र संगठन परिचालन लगायतका विषयमा छलफल गर्न बिहान ११ बजे केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक बस्ने कार्यक्रम छ।
यसैबीच, रास्वपाले धनगढीमा सभा आयोजना गर्दैछ। बिहान साढे ११ बजे पशुपति टोलमा जनसम्बोधन कार्यक्रम तय गरिएको छ। सभामा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टी प्रवक्ता प्रतिभा रावलले जानकारी दिएकी छन्।
त्यसअघि कञ्चनपुरको महेन्द्रनगर, झलारी, वाणी र गुलरिया बजारमा पनि सम्बोधन कार्यक्रम राखिएको छ। रास्वपाले भोलि सुर्खेतमा सभा गर्ने र सोहीँबाट घोषणापत्र सार्वजनिक गर्ने नेताहरूले बताएका छन्।











