Logo
Logo

अरुण नदीमा बेलिब्रिज भाँचियो, ट्रक खस्यो


441
Shares

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका वडा नम्बर ५ र २ जोड्ने बेलिब्रिज भाँचिएको छ । मकालु–५ को नुम र वडा नम्बर–२ सेदुवा जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचिएको हो ।

शनिबार बिहान ९ बजे सिमेन्ट बोकेको लावेट ट्रक तार्ने क्रममा बेलिब्रिज भाँचिएको जिल्ला प्रहरी कार्यालय संखुुवासभाका प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीले जानकारी दिए । हेभी सवारी साधन तार्ने क्रममा पुल गाडी सहित भाँचिएको हो ।

बेलिब्रिज भाँचिदा नुम सेदुवा सडक खण्डको भित्री सडकमा प्रदेश –०३–००१ क २९२० नम्बर ट्रक अरुण नदीमा खसेको छ । ट्रक नदीमा खसेर दुर्घटनामा हुँदा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ का ४० वर्षीय अर्जुन श्रेष्ठ गम्भीर घाइते भएका प्रहरी नायब उपरीक्षक मैनालीले बताए ।

गम्भीर घाइते चाकलको प्राथमिक स्वास्थ्य केन्द्र नुममा उपचार पश्चात काठमाडौं लग्ने तयारी भइरहेको छ । निर्माणाधीन कासुवा हाइड्रो पावर कम्पनीको निर्माण सामाग्री लिएर गएको लोवेट ट्रक पुल भाँचिएपछि अरुण नदीमा खसेको हो ।

अरुण नदीको बेलिब्रिज भाँचिएपछि नुम–सेदुवा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ भने आवतजावत ठप्प बनेको छ ।

पुल भत्किँदा स्थानीय बासिन्दा, पर्यटक तथा दैनिक उपभोग्य सामग्री ढुवानीमा प्रत्यक्ष असर परेको छ । उक्त पुल मर्मत तथा वैकल्पिक व्यवस्था मिलाउन समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्