रौतहट । रौतहटमा निर्वाचनको समयमा शान्ति सुरक्षा कायम राख्न नेपाली सेनाले पैदल, मोटरसाइकल, विभिन्न सवारी साधन तथा बख्तरबन्द गाडीमार्फत गस्ती सुरु गरेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई स्वतन्त्र, निष्पक्ष तथा शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले रौतहट जिल्लामा तैनाथ नेपाली सेनाको श्री नारायणदल गणले सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाएको छ ।

निर्वाचनलाई लक्षित गर्दै सेनाले अत्याधुनिक सैनिक सवारी साधनसहित व्यापक गस्ती तथा निगरानी बढाएको छ । जिल्लाका विभिन्न मतदान स्थलहरूमा एकैसाथ गस्ती परिचालन गरी सम्भावित जोखिमलाई नियन्त्रणमा लिन सक्रियता बढाइएको छ । निर्वाचन मिति नजिकिँदै जाँदा सेनाले जिल्लाभर सुरक्षा सतर्कता उच्च पारेको छ ।
मतदान केन्द्रहरू वरपर विशेष निगरानी राखिएको तथा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन कडा सुरक्षा प्रबन्ध मिलाइएको सेनाले जनाएको छ । श्री नारायणदल गण रौतहटका सबै १७ स्थानीय तहमा तैनाथ रहेको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग समन्वय गरी संयुक्त गस्ती तथा सुरक्षा व्यवस्थापन भइरहेको छ । प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार निर्वाचनका लागि १० हजारभन्दा बढी सुरक्षाकर्मी तथा जनशक्ति परिचालन गरिएको छ ।











