काठमाडौं । काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन साह भावी प्रधानमन्त्रीको उद्घोष गरेर झापा ५ बाट निर्वाचन लडेका छन् । निवर्तमान प्रधानमन्त्री केपी शर्मासँग चुनावी प्रतिष्पर्धामा रहेका बालेन देशव्यापी अभियानमा समेत हिडेका छन् । देशका विभिन्न शहरहरूमा गरेको ‘रोड शो’ले राष्ट्रिय राजनीतिमा नयाँ तरंग ल्याएको छ ।

तराई मधेशका आठ जिल्लादेखि देशका अधिकांश जिल्लामा पुगेर गरिएको ‘रोड शो’ले राजनीतिमा नयाँ तरंग ल्याएको हो । झापामा त झन दुई पटक गरिएको यसप्रकारको ‘रोड शो’मा बालेनलाई हेर्न मात्र पनि मानिसहरूको घुइँचो लागेको थियो ।
काठमाडौमा थोरै भीड देखिए पनि देशभर ठुलो संख्यामा बालेनलाई हेर्न भीड लागेको थियो । सबैभन्दा बढी मधेशमा बालेनको लहर देखिएको थियो भने लम्बिनी र गण्डकीमा पनि उस्तै प्रकारको लहर देखिएको थियो ।
स्थानीय तहको जिम्मेवारी सम्हालिसकेका बालेनको यो अभियानलाई कतिपयले आगामी संसदीय राजनीतिक यात्राको संकेतका रूपमा व्याख्या गरेका छन् भने समर्थकहरूले यसलाई ‘विकास र सुशासनको सन्देश’ का् रुपमा अर्थाएका छन् ।
पछिल्ला केही सातायता पूर्वदेखि पश्चिमसम्मका प्रमुख शहरहरूमा बालेनको उपस्थितिले युवापुस्तामा आकर्षण देखिएको छ । सामाजिक सञ्जालमार्फत आह्वान गरिएका सभाहरूमा हजारौँ समर्थकको सहभागिता देखिनु, स्वतःस्फूर्त नाराबाजी र परिवर्तनको मागले पुराना दलहरूमाथि दबाब सिर्जना गरेको राजनीतिक विश्लेषकहरूको दाबी छ ।
‘रोड शो’का क्रममा बालेनले परम्परागत दलहरूको कार्यशैलीमाथि कडा टिप्पणी गर्दै पारदर्शिता, जवाफदेहिता र परिणाममुखी शासनको आवश्यकता औंल्याएका छन् । ‘अब कुरा होइन, काम चाहिन्छ,’ भन्ने सन्देशलाई उनले प्रमुख नारा बनाएका छन् ।
राजनीतिक विश्लेषकहरूका अनुसार यो ‘रोड शो’ केवल भीड प्रदर्शन मात्र होइन, स्थापित शक्ति संरचनाविरुद्धको असन्तोषको प्रतीक पनि हुन सक्छ । तर यो लहर दीर्घकालीन राजनीतिक शक्तिमा रूपान्तरण हुन्छ कि हुँदैन भन्ने प्रश्न भने उठेको छ । संगठन विस्तार, स्पष्ट नीति–कार्यक्रम र दीर्घकालीन रणनीतिबिना भीडको उत्साह चुनावी परिणाममा बदलिन गाह्रो हुने विश्लेषकहरूको भनाइ छ ।











