काठमाडौं । आसन्न निर्वाचनको पूर्वसन्ध्यामा विदेशबाट स्वदेश फर्कने नेपालीको संख्या उल्लेख्य रूपमा बढेको छ । सन् २०२६ को फेब्रुअरीमा १ लाख ४८ हजार ६२३ नेपाली नेपाल फर्किएका छन्, जुन सन् २०२५ को सोही महिनाको १ लाख १५ हजार ५८४ को तुलनामा २८ प्रतिशतले बढी हो ।

यसअघि सन् २०२४ को तुलनामा सन् २०२५ मा सोही महिनामा नेपाली आगमन केवल ३ प्रतिशतले मात्रै बढेको थियो। तर यस वर्षको उछालले निर्वाचनलाई लक्षित गर्दै प्रवासी नेपाली स्वदेश फर्किएको संकेत गरेको छ।
अध्यागमन विभागका अनुसार विदेशी नागरिकको आगमनमा पनि उल्लेख्य वृद्धि भएको छ । फेब्रुअरी २०२६ मा १ लाख १५ हजार ४४२ विदेशी नेपाल आएका छन्, जबकि अघिल्लो वर्ष सोही महिनामा ९६ हजार ८८० विदेशी मात्र आएका थिए ।
कुल आगमनतर्फ हेर्दा फेब्रुअरी २०२६ मा २ लाख ६४ हजार ६५ जना नेपाल भित्रिएका छन् । यो संख्या सन् २०२५ को २ लाख १२ हजार ४६४ र सन् २०२४ को २ लाख ५ हजार २६३ को तुलनामा उल्लेख्य रूपमा बढी हो। समग्रमा यस वर्ष फेब्रुअरी महिनामा नेपाल आउने यात्रु नेपाली र विदेशी दुवै २४ प्रतिशतले बढेको देखिन्छ ।
प्रस्थानतर्फ पनि यात्रु संख्या वृद्धि भएको छ । सन् २०२६ को फेब्रुअरीमा २ लाख ५७ हजार ३६४ जना नेपालबाट बाहिरिएका छन्, जबकि सन् २०२५ को सोही महिनामा यो संख्या २ लाख १३ हजार ५५२ थियो ।
यसमध्ये १ लाख ४९ हजार ८९५ नेपाली नागरिक विदेश प्रस्थान गरेका छन् । सन् २०२५ को फेब्रुअरीमा १ लाख २५ हजार ८६६ नेपाली मात्रै विदेश गएका थिए ।
वैदेशिक रोजगारीतर्फ पनि वृद्धि देखिएको छ । फेब्रुअरी २०२६ मा ८० हजार ८६१ नेपाली वैदेशिक रोजगारीका लागि विदेशिएका छन्, जुन सन् २०२५ को सोही महिनाको ६० हजार १९२ को तुलनामा ३३ प्रतिशतले बढी हो ।
समग्र तथ्यांकले निर्वाचनपूर्व आवतजावत तीव्र भएको र श्रम आप्रवासनको प्रवृत्ति अझै उच्च रहेको संकेत गर्छ ।











