Logo
Logo

अनुभव र नयाँ पुस्ताबीच पुल बन्ने प्रतिबद्धतासहित डिल्लीराम सुवेदीको सहमहामन्त्री उम्मेदवारी


252
Shares

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता तथा गण्डकी प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले पार्टीको महाधिवेशनमा सहमहामन्त्री (खुलातर्फ) पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनले आफ्नो उम्मेदवारीलाई पुस्ताबीच पर्खाल उभ्याउने नभई पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जालाई जोड्ने ‘सेतु’का रूपमा अघि सारेका छन्।

सुवेदीका अनुसार कांग्रेस अहिले पुस्तान्तरणको महत्त्वपूर्ण चरणमा छ। नयाँ पुस्ताले नेतृत्वमा हस्तक्षेप बढाउँदै लगेको र पुरानो पुस्तासँग समृद्ध राजनीतिक अनुभव रहेको वर्तमान अवस्थामा यी दुईबीच द्वन्द्व होइन, अनुभव र ऊर्जाको परिपूरक संयोजन आवश्यक छ। यही मान्यताका आधारमा आफूले सहमहामन्त्री पदमा दाबी प्रस्तुत गरेको उनले स्पष्ट पारेका छन्।

विद्यार्थी राजनीतिबाट कांग्रेसको मूलधारमा प्रवेश गरेका सुवेदीको राजनीतिक यात्रा लामो र निरन्तर छ। नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) बाट सक्रिय राजनीति थालेका उनले काठमाडौँ शिक्षा क्याम्पसको स्ववियु सभापति हुँदै नेविसङ्घको केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश संयोजक (२०७३) को जिम्मेवारी सम्हालिसकेका छन्। त्यसयता उनी पार्टीको सङ्गठन र वैचारिक राजनीतिमा निरन्तर सक्रिय रहँदै आएका छन्। बागलुङबाट तेस्रोपटक महाधिवेशन प्रतिनिधि बनेका उनी २०७९ को प्रदेशसभा निर्वाचनमा बागलुङ क्षेत्र नं. १ (ख) बाट निर्वाचित भई गण्डकी प्रदेशसभा सदस्य बनेका हुन्।

सुवेदीको पहिचान केवल चुनावी राजनीति र सङ्गठनमा मात्र सीमित छैन; उनी कांग्रेसभित्र अध्ययन, लेखन र वैचारिक बहसमा रुचि राख्ने अध्ययनशील नेताका रूपमा पनि चिनिन्छन्। कांग्रेसको इतिहास, लोकतान्त्रिक आन्दोलन र संविधान निर्माणका विषयमा सामग्री लेखन तथा सम्पादनमा उनी लगातार संलग्न रहँदै आएका छन्। महामन्त्री गगन थापासँगको सहलेखनमा प्रकाशित ‘नेपाली कांग्रेस र संविधानसभा’ पुस्तक उनको वैचारिक लेखन यात्राको महत्त्वपूर्ण दस्तावेज हो। ऐतिहासिक दस्तावेज सङ्कलन तथा सम्पादनमा सुवेदीको योगदानलाई नेता थापाले पनि पटक-पटक उल्लेख गर्दै आएका छन्।

विचार र सङ्गठनलाई समानान्तर रूपमा अगाडि बढाउनुपर्ने मान्यता राख्ने सुवेदीले विद्यार्थी राजनीतिदेखि नै शैक्षिक र राजनीतिक बहसलाई प्राथमिकता दिँदै आएका छन्। ‘विचार विशेष’ जस्ता वैचारिक प्रकाशनहरूमार्फत कांग्रेसको सैद्धान्तिक धरातल र समसामयिक प्रश्नहरूमा चिन्तन-मनन गर्दै आएका उनले सुरुवाती चरणदेखि नै पार्टीमा युवाको निर्णायक भूमिका हुनुपर्ने वकालत गर्दै आएका थिए। प्रदेशसभामा रहँदा पनि उनी बजेटमा हुने टुक्रे आयोजना र पहुँचका आधारमा योजना छनोट गर्ने प्रवृत्तिका विरुद्ध नीतिगत बहस र सुधारका पक्षमा दरिलो रूपमा उभिएका छन्।

कांग्रेसभित्र वैचारिक पुनर्निर्माण, पुस्तान्तरण र सङ्गठनात्मक पुनर्संरचनाको तीव्र बहस चलिरहेका बेला सुवेदीको उम्मेदवारीलाई निकै महत्त्वका साथ हेरिएको छ। आफ्नो दाबीलाई केवल उमेर वा पुस्ताको प्रतिनिधित्वमा मात्र सीमित नराखी कांग्रेसको विचार, सङ्गठन र नेतृत्वबीच पुलको काम गर्ने दायित्वसँग जोड्दै उनले पार्टीलाई परिपक्व र ऊर्जाशील ढङ्गले अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्