
काठमाडौं । यात्रा प्रतिवन्धका कारण आबुधाबीमा अलपत्र परेका पर्यटक तथा आगन्तुकहरूको खर्च अबुधाबीको संस्कृति तथा पर्यटन विभागले व्यहोर्ने भएको छ ।
विभागले ५ दिनअघि नै निर्णय गरिएको एक परिपत्र जारी गर्दै अबुधाबी क्षेत्रमा काबु बाहिरको परिस्थितिले गर्दा आफ्नो देश फर्कन नसकेका र भिसा वा होटलको चेक–आउट मिति सकिएका पाहुनाहरूको बसाइ अवधि लम्ब्याउन त्यहाँका सबै होटलहरूलाई निर्देशन दिएको छ ।
विभागले होटलका महाप्रवन्धकहरूलाई पठाएको पत्रमा चेक–आउट मिति पुगे पनि काबु बाहिरको परिस्थितिका कारण यात्रा गर्न नसक्ने पाहुनाहरूलाई उनीहरू प्रस्थान गर्न सक्षम नभएसम्म होटलमै बस्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख छ ।
यसरी थपिएको बसाइ अवधिको सम्पूर्ण खर्च आबुधाबी संस्कृति तथा पर्यटन विभाग स्वयंले व्यहोर्ने पत्रमा उल्लेख छ । होटलहरूलाई यस अवधिको बिल तथा इनभ्वाइसहरू विभागको तोकिएको इमेल ठेगानामा पठाउन सूचित गरिएको छ ।
यस प्रक्रियामा थप जानकारी आवश्यक परेमा वा कुनै समस्या आएमा विभागले आफ्नो ‘बिजनेस कन्टिन्युटी टिम’ को सम्पर्क नम्बर ०२६५७६२८३ समेत सार्वजनिक गरेको छ । अबुधाबी सरकारको यो निर्णयले अनपेक्षित यात्रा प्रतिबन्धका कारण आर्थिक तथा मानसिक तनावमा परेका पर्यटकहरूलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ ।











