Logo
Logo

परिवर्तनको आशा बोकेर मतदान


378
Shares

काठमाडौं ।  डिल्ली बजारस्थित पद्मकन्या विद्या आश्रम मतदान केन्द्रबाट भोट हालेर फर्कँदै गरेकी ९० वर्षीया शान्ता रेग्मीले जीवनमा कति पटक मतदान गरिन् भन्ने ठ्याक्कै सम्झना छैन ।

एउटै कुराको सम्झना भने उनलाई स्पष्ट छ, विगतका चुनावमा मत दिएका धेरै नेताहरू जितेर गए, तर अधिकांशले जनतासँग गरेका वाचा पूरा गर्न सकेनन् । कतिपय त फर्केर पनि आएनन् । “अब त हामी डाँडापारिको घाम जस्तै भइसक्यौँ,” उनले भनिन्, “हामीले दुःख पाए पनि हाम्रो नातिनातिना र छोराछोरीले दुःख नपाउन् भन्ने चाहना छ ।” 

उनकी नातिनी विदेशमा छन् । रेग्मीलाई लाग्छ देशमै रोजगारीको राम्रो वातावरण भइदिए युवापुस्ता विदेश जान बाध्य हुने थिएनन् । “देशमै काम पाइयो भने किन विदेश बस्नुपर्थ्यो र रु” उनले प्रश्न गरिन् ।

डिल्लीबजारकै अर्का मतदाता गोकुल धितालले भने विगतलाई पूर्ण रूपमा निराशाजनक रूपमा लिएका छैनन् । उनी  देशमा केही काम भएको मान्नुहुन्छ, तर जनताको अपेक्षाअनुसार पर्याप्त भने हुन सकेको छैन । “धेरै पटक मतदान गरियो । विगतमा केही पनि भएन भन्न मिल्दैन,” उनले भने, “तर हाम्रो अपेक्षा जति छ, त्यति काम भएन ।” उनको विचारमा अहिलेको प्रमुख आवश्यकता सुशासन र रोजगारी हो । 

नयाँ पुस्ता, विशेषगरी ‘जेनजी’ को अपेक्षा सम्बोधन गर्नुपर्नेमा उनको जोड रहेको छ । “युवाको विश्वास जित्न सके मात्रै देशको भविष्य बलियो हुन्छ,” उनले भने। आज जेनजी आन्दोलनपछि विशेष परिस्थितिमा प्रतिनिधिसभाको निर्वाचन भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्