Logo
Logo

भोजपुरमा जसले ढाले ७ दशकदेखिको अभेद्य कम्युनिष्ट किल्ला


3.5k
Shares

काठमाडौं । भोजपुरमा झण्डै सात दशकदेखिको कम्युनिष्टको ‘लालकिल्ला’ अन्ततः ढलेको छ । २०१५ सालको पहिलो संसदीय निर्वाचनमा तीनै क्षेत्र नेपाली कांग्रेसले जितेको थियो । त्यसपछि भोजपुरमा कांग्रेसले कहिल्यै आफ्नो झण्डा फहराउन सकेन ।

त्यसयता भएका सबै संसदीय निर्वाचनमा कम्युनिष्ट शक्तिले नै झण्डा गाड्दै आयो । कांग्रेसले गठबन्धन बद्ल्यो, रणनीति फेर्‍यो, उम्मेदवार परिवर्तन गर्‍यो, तर भोजपुरमा आफ्नो साख फर्काउन सकेन।

कम्युनिस्टको लालकिल्ला तोड्न नसकेपछि कतिपय कांग्रेसी हस्तीहरू सुरक्षित निर्वाचन क्षेत्र खोज्दै अन्य जिल्लातिर लाग्न बाध्य भए । तर, यसपटक इतिहासले अर्कै मोड लियो । सात दशकदेखि कसैले हल्लाउन नसकेको त्यो किल्ला न कांग्रेसले ढाल्यो, न त स्थापित कम्युनिस्ट शक्तिले नै जोगाउन सके ।

गौरवशाली इतिहासको त्यो विरासत
भोजपुर केवल एउटा जिल्ला मात्र होइन, नेपाली राजनीतिको एउटा जीवन्त पाठशाला हो । २००७ सालको क्रान्तिमा नारदमुनि थुलुङ र रामप्रसाद राईको नेतृत्वमा बनेको जनमुक्ति सेनाले भोजपुरदेखि धुलिखेलसम्म कब्जा जमाएर क्रान्तिको राँको बालेको थियो ।

राजा त्रिभुवन २००७ साल कात्तिक २६ गते दिल्ली पुगेपछि कांग्रेसको मुक्ति सेनाले भारतसँग जोडिएका सीमाक्षेत्रहरूमा आक्रमण सुरु गरेको थियो । त्यही समय थुलुङ र राईले भोजपुरबाट छुट्टै सैन्य मोर्चा खडा गर्दै क्रान्तिको बिगुल फुकेका थिए ।

२००७ साल मंसिर २४ गते भोजपुरको आकाशवाणी केन्द्र कब्जा गरी शिक्षकद्वय जयन्द्रबहादुर थपलिया र पदम राईले “यो मुक्ति सेनाको आवाज हो” भन्दै गर्दा, त्यो जहानियाँ राणा शासनविरुद्धको पहिलो ‘रेडियो जनबोली’ बनेको थियो ।

राजनीतिक चेतनाको हिसाबले भोजपुर सधैं अग्रपंक्तिमा रह्यो । त्यसैको परिणामस्वरूप २०१५ सालको पहिलो संसदीय निर्वाचनमा भोजपुरका तीनै क्षेत्र कांग्रेसले जितेको थियो ।

क्षेत्र नम्बर १९ (मध्य) बाट खड्गबहादुर कार्की, क्षेत्र नम्बर २० (दक्षिण)बाट भूदेव राई र क्षेत्र नम्बर २१ (उत्तर–पूर्व)बाट देवानसिंह राई निर्वाचित भए । देवानसिंह राईलाई पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले मन्त्री बनाएका थिए । तर त्यो संसद लामो समय टिकेन। २०१७ पुस १ गते राजा महेन्द्रले ‘कु’ गरेपछि लोकतान्त्रिक व्यवस्था अन्त्य भयो र देश ३० वर्षे पञ्चायती व्यवस्थामा धकेलियो ।

पञ्चायतको अन्त्यपछि भएको २०४८ सालको निर्वाचनमा कांग्रेसले आफ्नो पुरानो विरासत जोगाउन सकेन । तीनै क्षेत्रमा एमाले विजयी भयो । क्षेत्र नम्बर १ मा नरेन्द्र बस्नेत, क्षेत्र नम्बर २ मा हेमराज राई र क्षेत्र नम्बर ३ मा धनहर्क राई । त्यसपछि भोजपुरमा कम्युनिष्ट वर्चस्व झन् बलियो बन्दै गयो ।

२०५१ को मध्यावधि निर्वाचनमा दुवै क्षेत्र एमालेले जित्यो । क्षेत्र १ मा हेमराज राई र क्षेत्र २ मा धनहर्क राई विजयी भए । २०५६ को निर्वाचनमा पनि कांग्रेसको हार रोकिएन । एमालेले जितको ह्याट्रिक पूरा गर्‍यो । क्षेत्र १ मा घनेन्द्र बस्नेत र क्षेत्र २ मा शेरधन राई विजयी भए । त्यसपछि देश १० वर्षे सशस्त्र द्वन्द्वतर्फ धकेलियो।

शान्ति प्रक्रियापछि २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा भने माओवादी लहर आयो । दुवै क्षेत्र माओवादीले जित्यो । क्षेत्र १ मा पदम राई र क्षेत्र २ मा सुदन किराती विजयी भए ।

तर पहिलो संविधानसभाले संविधान बनाउन नसकेपछि २०७० सालमा पुनः निर्वाचन भयो। यसपटक एमालेले आफ्नो पकड फर्कायो । क्षेत्र १ मा कृपाशुर शेर्पा र क्षेत्र २ मा शेरधन राई विजयी भए।

२०७४ र २०७९ सालमा भने तत्कालीन माओवादी केन्द्रका सुदन किराती लगातार विजयी भए । भोजपुर एकल निर्वाचन क्षेत्र बनेयता संघीय संसदको ढोका खोल्ने उनी नै एक्ला नेता थिए ।

तर यसपटक समीकरण नै बदलियो । सुदन किराती चुनावी मैदानमा थिएनन् । माओवादी, एकीकृत समाजवादीलगायत दल मिलेर बनेको नयाँ नेपाली कम्युनिस्ट पार्टीमा उनी समाहित भएनन् । बरु जनार्दन शर्मासँगै प्रगतिशील लोकतान्त्रिक पार्टीमा लागे । रोचक त के भने उनकै गृहजिल्ला भोजपुरमा उक्त पार्टीले उम्मेदवार नै उठाएन ।

तर यसपटक त्यो किल्ला भत्किएको छ। देशकै पुरानो र शक्तिशाली दलहरूले समेत ढाल्न नसकेको कम्युनिष्ट वर्चस्वलाई हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले भत्काएको छ ।

एकमात्र निर्वाचन क्षेत्र रहेको भोजपुरमा एमाले सचिव तथा पूर्वमुख्यमन्त्री शेरधन राई आफ्नै पूर्वकार्यकर्ता ध्रुवराज राईसँग पराजित भएका छन्।

श्रम संस्कृति पार्टीका ध्रुवराज राई १६ हजार ६६३ मतसहित विजयी भएका छन् । उनले एमालेका शेरधन राईलाई १ हजार ९१३ मतले पराजित गरे। शेरधनले १४ हजार ७५० मत पाए।

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा पूर्वसञ्चारमन्त्रीसमेत रहेका शेरधन राईको हारलाई भोजपुरको राजनीतिक इतिहासमा ठूलो मोडको रूपमा हेरिएको छ।

यता अर्को कम्युनिष्ट शक्ति नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार अजम्बर राई काङमाङ भने पाँचौँ स्थानमा खुम्चिए । उनले जम्मा ५,७२८ मत पाए ।

कम्युनिष्ट गढ भत्काउन कसरी सफल भए ध्रुव ?
जेनजी आन्दोलनको राप र तापले देशैभरि परिवर्तनको बिगुल फुकिरहँदा त्यसको प्रतिध्वनि भोजपुरका डाँडाकाँडामा पनि उत्तिकै प्रखर रूपमा सुनियो।

जब पुराना राजनीतिक शक्तिहरूले थोत्रा र परीक्षण भइसकेका अनुहारहरूलाई बारम्बार ‘रिसाइकल’ गरेर जनतामाथि थोपर्ने चेष्टा गरे, तब आम जनमानसले विकल्पको खोजीमा विद्रोहको शंखघोष गर्‍यो । यही राजनीतिक संक्रमण र परिवर्तनको हुटहुटीबीच एउटा भरपर्दो खम्बाका रूपमा ध्रुव राईको उदय भए ।

वि.स. २०३९ मा नागीको साधारण किसान परिवारमा जन्मिएका ध्रुवका लागि भोजपुरको भूगोल मात्र होइन, त्यसको पीडा, संघर्ष र स्वाभिमान पनि परिचित छन् ।

२०६२–६३ को जनआन्दोलनताका शाही सत्ताको दमन चरम उत्कर्षमा थियो, त्यही दमनको सामना गर्न सडकमा उत्रिने साहस देखाउने युवा मध्येका एक थिए ध्रुव । त्यो समयको प्रतिरोध केवल राजनीतिक गतिविधि मात्र थिएन, त्यो एउटा पुस्ताको आत्मसम्मानको लडाइँ थियो।

२०७४ को स्थानीय निर्वाचनमा कांग्रेस, माओवादी र तत्कालीन संघीय समाजवादी फोरमको शक्तिशाली गठबन्धनलाई धुलो चटाएपछि उनले राजनीतिक वृत्तमा ‘धुर्वे हात्ती’ को उपनाम पाए, जसले प्रतिकूलतालाई चिर्ने उनको क्षमतालाई दर्शाउँछ ।

एमालेको मूल धार परित्याग गरी ध्रुवको यात्रामा समाहित हुने नेताकार्यकर्ताको बढ्दो लर्कोले भोजपुरमा मात्र होइन, समग्र नेपाली राजनीतिमा ‘नयाँ वैचारिक धारा’को संकेत गर्‍यो । यसले दशकौँदेखि अभेद्य मानिएको कम्युनिष्ट किल्लामा समेत गहिरो दरार पैदा गरिदिएको छ ।

सुदन किरातीको साथ
भोजपुरको राजनीतिमा सुदन किराती एक स्थापित र प्रभावशाली नाम हो । यसपटकको निर्वाचनमा उनी स्वयं उम्मेदवार नबनी ध्रुवलाई खुला समर्थन दिनुले राजनीतिक वृत्तमा ठुलै पराकम्प ल्याइदियो । पूर्वमन्त्री किरातीको यो दूरगामी निर्णयले जेनजी पुस्ता र परिवर्तनका भोका मतदाताहरूलाई ध्रुवको पक्षमा गोलवद्ध हुन उत्प्रेरित गर्‍यो, जसले चुनावी गणितलाई पूर्णतः उथलपुथल पारिदियो।

विकासका सन्दर्भमा ध्रुव राई आश्वासनका खेती गर्ने गफका सौदागर होइनन्, श्रम र कर्मका उपासक हुन् । टेम्केमैयुङ गाउँपालिकाको अध्यक्ष रहँदा उनले त्यस क्षेत्रलाई पर्यटकीय हबका रूपमा मात्र स्थापित गरेनन्, बरु प्रसिद्ध मुन्दुम पदमार्गलाई विश्व मानचित्रमा चिनाउन आफैँ कोदालो बोकेर मैदानमा उत्रिए ।

आडम्बररहित जीवनशैली, जनताको घरदैलोमा सहज पहुँच र श्रमप्रतिको अगाध निष्ठा नै उनका ती अजेय हतियार हुन्, जसले विरासतको राजनीति गर्ने हेभीवेट भनिने नेताहरूलाई समेत किनारा लगाइदियो ।

भोजपुरले यसपटक पुरातनवादी राजनीतिलाई बिदा गर्‍यो । आफ्नै माटोको सुगन्ध बोकेको, संघर्षको भट्टीबाट खारिएर निस्किएको आन्दोलनको छोरोलाई भोजपुरे जनताले अनुमोदन गरेर सार्वभौम संसदको यात्रा तय गरिदिएका छन् । यो जीत ध्रुव राईको मात्र नभई, समग्र भोजपुरको परिवर्तनकारी चेतनाको जीत हो।

अन्ततः, भोजपुरको यो नतिजाले एउटा गम्भीर बहस छेडिदिएको छ- के नेपाली राजनीतिमा परम्परागत कम्युनिस्ट आन्दोलनको राप र ताप सेलाउँदै गएको हो ? या यो स्थापित दलहरू प्रतिको जनआक्रोशले उब्जाएको एउटा क्षणिक पराकम्प मात्र हो ?

प्रतिक्रिया दिनुहोस्