
काठमाडौं । सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रबाट प्रतिस्पर्धा गरेका १४ पूर्वमन्त्रीमध्ये दुईले मात्र चुनाव जितेका छन् ।
२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार संघ र प्रदेश सरकारमा मन्त्री भइसकेका १२ जना ‘हेभीवेट’ उम्मेदवारहरूलाई जनताले अस्वीकृत गरिदिएका हुन् ।
नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले संघ र प्रदेश सरकारमा मन्त्री भइसकेका ‘हेभीवेट’ नेताहरूलाई उम्मेदवार बनाएको थियो । तर जेनजी आन्दोलनपछि भएको यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पक्षमा जनलहर देखिँदा पूराना अधिकांश दल तथा नेताहरुको चुनावी यात्रामा पूर्णविराम लागेको हो ।
नेकपाले अछाम क्षेत्र–१ बाट उम्मेदवार बनाएका पूर्वउपप्रधानमन्त्री एवं पटक–पटक संघीय मन्त्री भइसकेका डा. भीमबहादुर रावललाई यसपटक जनताले विश्वास गरेनन् । उनलाई नेपाली कांग्रेसका भरतकुमार स्वारले १० हजार ७ सय ५९ मत ल्याएर ५ सय २६ मतको अन्तरले पराजित गरे भने रावल १० हजार २ सय ३३ मतमै सीमित भए ।
त्यस्तै नेकपाबाटै डोटीमा उम्मेदवार बनेका सुदूरपश्चिम प्रदेश सरकारका संस्थापक मुख्यमन्त्री त्रिलोचन भट्टको अवस्था झन् कमजोर देखियो । लगातार पाँच वर्ष मुख्यमन्त्री बनेका भट्ट ५ हजार ४ सय १३ मतका साथ चौथो स्थानमा थन्किए, जहाँ कांग्रेसका भरतबहादुर खड्का १४ हजार ८ सय ९७ मतसहित विजयी भए ।
कैलाली–५ मा क्षेत्र परिवर्तन गरी चुनावी मैदानमा उत्रिएका संघीय सरकारका पूर्वमन्त्री प्रेमबहादुर आलेको संसदीय यात्रामा पनि रास्वपाका आनन्दबहादुर चन्दले ब्रेक लगाइदिए । २०७० देखि लगातार जित्दै आएका आले ७ हजार ८ सय ७६ मतका साथ तेस्रो स्थानमा झरे भने चन्द ३१ हजार ९ सय ५३ मतसहित विजयी भए ।
कञ्चनपुर–१ मा पूर्वखानेपानी मन्त्री बिना मगरलाई रास्वपाका जनक सिंह धामीले २४ हजार ३ सय ३२ मत ल्याएर रोके भने मगरले ११ हजार १ सय १० मत मात्र पाइन्।
बाजुराबाट नेकपाकै पूर्वमन्त्री प्रकाशबहादुर शाह ३ हजार ३ सय १ मतका साथ चौथो भए भने कञ्चनपुर–३ मा पूर्वमन्त्री मानबहादुर सुनार ४ हजार २ सय ८४ मतका साथ चौथो स्थानमा खुम्चिए, जहाँ रास्वपाका ज्ञानेन्द्र सिंह महता २७ हजार १ सय १८ मतसहित विजयी भए।
एमालेका उम्मेदवारहरूको हालत पनि उस्तै निराशाजनक रह्यो । कैलाली–४ मा एमाले उपमहासचिव समेत रहेका पूर्वमन्त्री लेखराज भट्ट ९ हजार ४ सय ४४ मतका साथ तेस्रो स्थानमा पछारिए, जहाँ रास्वपाका खेमराज कोइराला २८ हजार ५ सय ५६ मतका साथ विजयी भए ।
बैतडीमा संघीय सरकारका पूर्वमन्त्री दामोदर भण्डारी १७ हजार ९१ मत ल्याएर तेस्रो भए भने उनलाई रास्वपाका हरिमोहन भण्डारीले २२ हजार १ सय ३४ मत ल्याएर पराजित गरे ।
कैलाली–३ मा पूर्वमन्त्री गौरीशंकर चौधरी ४ हजार ७ सय ५२ मतका साथ पाँचौँ स्थानमा रोकिए भने कञ्चनपुर–१ बाट प्रदेशका पूर्वमन्त्री तारा लामा तामाङ ८ हजार ८८ मतका साथ चौथो स्थानमा झरे ।
नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पटक–पटक मन्त्री भइसकेका एनपी साउदलाई कञ्चनपुर–२ मा रास्वपाका दीपकराज बोहराले फराकिलो मतान्तरले हराए । बोहराले ३३ हजार ९ सय ५२ मत पाउँदा साउदले जम्मा १० हजार ८ सय २७ मतमा चित्त बुझाउनुपर्यो।
कैलाली–१ मा कांग्रेसकै अर्का पूर्वमन्त्री जनकराज चौधरीलाई रास्वपाका कोमल ज्ञवालीले १७ हजार ८ सय २६ मत ल्याएर पराजित गरे भने चौधरी १२ हजार ८ सय ६७ मतमा रोकिए ।
यस्तो प्रतिकूल लहरका बीच केवल दुई पूर्वमन्त्रीले मात्र आफ्नो साख जोगाउन सफल भए । दार्चुलाबाट एमालेका गणेशबहादुर ठगुन्ना १८ हजार ८ सय ९१ मतसहित विजयी भए, जसले कांग्रेसका धर्मानन्द जोशीलाई पराजित गरे ।
त्यस्तै, बाजुराबाट कांग्रेसका जनकराज गिरी १७ हजार १ सय ७३ मत प्राप्त गरी विजयी भए, जहाँ उनले एमालेका लालबहादुर थापालाई ५ सय ४० मतको अन्तरले पछि पारे । यसरी सुदूरपश्चिममा रास्वपाको उदय र पुराना अनुहारप्रतिको वितृष्णाले १२ जना पूर्वमन्त्रीहरूको राजनीतिक विरासत धराशायी बनाएको छ ।











