काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको कम प्रभावक्षेत्र मानिएको सुदुरपश्चिमका कैलाली र कञ्चनपुरका आठ वटै निर्वाचन क्षेत्रमा रास्वपाले ‘क्लिन स्वीप’ गरेको छ । कैलालीका पाँच र कञ्चनपुरका तीन वटै क्षेत्रमा रास्वपाले ‘क्लिन स्वीप’ गरेको हो । रास्वपाले डडेल्धुरा र बैतडीमा विजयी हासिल गरेको हो ।

कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाकी कोमल ज्ञवालीले १७ हजार ८२६ मतसहित विजयी भइन् । नागरिक उन्मुक्ति पार्टीबाट राजनीति सुरु गरेकी उनले उम्मेदवारी दर्ताको केही समयअघि मात्रै रास्वपा प्रवेश गरेकी थिइन् । उनले कांग्रेसका जनकराज चौधरी र टीकापुरको मेयरबाट राजीनामा दिएर नेकपा उम्मेदवार बनेका रामलाल डगौरा थारुलाई भारी मतान्तरले पराजित गरेकी हुन् ।
कैलाली-२ मा रास्वपाकै केपी खनाल विजयी भएका छन् । खनालले एमालेका सुर्यबहादुर थापा, कांग्रेसका विजय स्वाँर र नाउपा नेपालका पतिराम चौधरी लगायतका उम्मेदवारलाई पराजित गरेका छन् ।
कैलाली ३ मा रास्वपा जगतप्रसाद जोशी निर्वाचित भएका छन् । राष्ट्रिय जनमोर्चाबाट स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको चुनाव लडेका जोशी यसपटक रास्वपाबाट उम्मेदवार भएर विजयी भएका हुन् । उनले २० हजार ३५९ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका वीरमान चौधरीले ११ हजार ९८३ मत ल्याए । कांग्रेसका भीम बडुवालले ९ हजार ७०६ मत ल्याए । एमालेका गौरीशंकर चौधरीको त धरौटी नै जफत भएको छ ।
कैलाली–४ मा रास्वपाकै खेमराज कोइराला विजयी भएका छन् । कोइराला २८ हजार ५५६ मत ल्याउँदै विजयी भएका हुन् । उक्त क्षेत्रमा नेपाली कांग्रेसका गोरखबहादुर विष्टले ११ हजार ३०१ मत लिए । नेकपा ९एमाले०का उपमहासचिव लेखराज भट्ट तेस्रो बने । उनले ९ हजार ४४४ मत ल्याए । कैलाली निर्वाचन क्षेत्र ४ बाट चुनाव लड्दै आएका लेखराज एक चुनाव बिराएर जित निकाल्न सफल हुँदै आएका थिए । तर, यसपटकको पराजयले उनको निरन्तर हार भएको छ । २०७९ सालको निर्वाचनमा भट्ट कांग्रेसका वीरबहादुर बलायरसँग पराजित भएका थिए ।
कांग्रेसले आफ्नो गढ बताउँदै आएको कैलाली-५ मा यसपटक रास्वपा उम्मेदवार आनन्दबहादुर चन्द निर्वाचित भए । चन्द ३१ हजार ९५३ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नरनारायण शाहले ११ हजार ९५८ मत ल्याए । यसैगरी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रेमबहादुर आलेले ७ हजार ८७६ र नेकपा (एमाले) का उम्मेदवार यज्ञराज ढुंगानाले ५ हजार ८३९ मत ल्याएका हुन् ।
कञ्चनपुर-१ मा रास्वपाका जनकसिंह धामी फराकिलो मतान्तरले विजयी भए । धामीले पुष्पकमल दाहालकी बुहारी तथा पूर्वमन्त्री बिना मगर र सुदूरपश्चिमका पूर्वमन्त्री तारा लामा तामाङलाई पराजित गरे । धामीले २४ हजार ३३२ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार मगरले ११ हजार ११० मत प्राप्त गरेकी छन् । नेपाली कांग्रेसका गोपीप्रसाद उपाध्यायले आठ हजार ४६७ मत प्राप्त गरेका छन् । नेकपा एमालेका तारा लामा तामाङले आठ हजार ८८ मत प्राप्त गरे ।
कञ्चनपुर–२ मा पनि रास्वपाका दीपक बोहरा भारी मतान्तरले विजयी भए । उनी पूर्व पत्रकार हुन् । रास्वपा सभापति रवि लामिछानेका दाइने हात मानिने बोहराले डेढ दशक पत्रकारिता गरेका छन् । बोहरा कांग्रेस नेता पूर्वमन्त्री एनपी साउदलाई २३ हजार १२५ मतान्तरले पराजित गर्दै विजयी भए । उनले ३३ हजार ९५२ मत प्राप्त गरे । साउदले १० हजार ८२७ मत प्राप्त गरेका छन् ।
यस्तै, कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्रसिंह महता निर्वाचित भएका छन् । महता पनि पूर्वपत्रकार हुन् । उनी रास्वपा सुदूरपश्चिमका संस्थापक इञ्चार्ज पनि हुन् । महताले २७ हजार ११८ मत प्राप्त गर्दा कांग्रेसका हरिप्रसाद बोहराले ९ हजार ४४३ मत प्राप्त गरेका छन् ।
डडेल्धुरामा पनि रास्वपाले कांग्रेसको किल्ला भत्किएको छ । डडेल्धुरामा रास्वपाका उम्मेदवार डा. ताराप्रसाद जोशी विजयी भएका छन् । उनले १९ हजार १३१ मत प्राप्त गरेका छन् भने प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरले १२ हजार १२१ मत पाए । ०४८ सालदेखि ०७९ सालसम्म भएका सात निर्वाचनमा डडेल्धुरा कांग्रेसका शेरबहादुर देउवा विजयी भएका थिए ।
सुदुरकै पहाडी जिल्ला बैतडीमा पनि रास्वपा विजयी भएको छ । रास्वपाका हरिमोहन भण्डारीले २२ हजार १३४ मत ल्याएर विजयी भएका हुन् । उनले कांग्रेस उम्मेदवार चतुरबहादुर चन्द र बैतडीबाटै जितको ह्याट्रिक गरिसकेका एमालेका दामोदर भण्डारीलाई पराजित गरे ।
रास्वपाबाट दार्चुला, बझाङ, बाजुरा, डोटी र अछामका दुवै क्षेत्रमा उम्मेदवार रहेकाहरू भने पराजित भएका छन् । दार्चुलाबाट राजेशसिंह सामन्त, बझाङबाट शैलेन्द्र सिंह, बाजुराबाट हेमराज थापा, डोटीबाट नरेन्द्र खड्का, अछाम–१ बाट ओमप्रकाश रावल र २ बाट भूपदेप शाह रास्वपा उम्मेदवार थिए ।











