रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिब २८ लाख रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगमा बुझाएका छन्।

रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका पौडेलले मङ्गलवार निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च विवरण पेस गरेका हुन्। आयोगमा बुझाइएको विवरणअनुसार उनले कुल २८ लाख ७ हजार १ सय रुपैयाँ खर्च गरेको उल्लेख छ।
पौडेलले पेस गरेको विवरणमा सबैभन्दा धेरै खर्च सवारी साधन भाडा तथा इन्धनमा भएको देखिएको छ। यस शीर्षकमा मात्रै ८ लाख ९७ हजार २ सय ७५ रुपैयाँ खर्च गरिएको उल्लेख गरिएको छ।
त्यस्तै छापा तथा विद्युतीय प्रचारप्रसारमा ८ लाख ३४ हजार रुपैयाँ, कार्यालय सञ्चालनमा २ लाख ६४ हजार रुपैयाँ, विविध खर्चमा २ लाख २२ हजार ३ सय २५ रुपैयाँ र छपाइमा १ लाख ९० हजार रुपैयाँ खर्च भएको विवरणमा जनाइएको छ।
यसै गरी एसएमएसमार्फत प्रचारप्रसारमा १ लाख ७५ हजार रुपैयाँ, मतदाता नामावली खरिदमा ९८ हजार रुपैयाँ, गोष्ठी तथा कार्यकर्ता परिचालनमा ५५ हजार रुपैयाँ, अन्तर्क्रिया कार्यक्रममा ४५ हजार रुपैयाँ र प्रतिनिधि परिचालनमा २६ हजार ५ सय रुपैयाँ खर्च गरिएको उल्लेख छ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारले प्रचारप्रसारका क्रममा गर्न पाउने अधिकतम खर्च सीमा निर्धारण गरेको थियो। आयोगले प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रलाई भौगोलिक अवस्था, पहुँच, सुविधा तथा सेवा नेटवर्कका आधारमा पाँच वर्गमा विभाजन गर्दै २५ लाखदेखि ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने सीमा तोकेको थियो।
सोही व्यवस्थाअनुसार रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २९ लाख रुपैयाँसम्म खर्च गर्न पाउने सीमा निर्धारण गरिएको थियो।
जिल्ला निर्वाचन कार्यालय रूपन्देहीले निर्वाचन परिणाम सार्वजनिक भएको ३० दिनभित्र आफ्नो चुनावी खर्च विवरण पेस गर्न सबै उम्मेदवारलाई आग्रह गर्दै सूचना जारी गरेको छ।











