काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले आफूहरु न्यायालय सुधारको बाटोमा हिँडिरहेको बताएकी छन् ।
अन्तर्राष्ट्रिय महिला दिवस र महिला न्यायाधीश दिवसको अवसर पारेर मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो दाबी गरेकी हुन् ।
न्यायाधीश मल्लले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पनि न्यायपालिकालाई साँच्चीकै एउटा जीवित र समावेशी संस्थाकै रुपमा उठाउने प्रयास गरिरहेको बताइन् ।
उनले न्याय सम्पादन कुनै पनि खालको डर, धम्कीबाट सम्पादन हुनै नसक्ने समेत स्पष्ट पारिन्। न्यायाधीश मल्लले मुलुकमा सुशासन र समावेशीतालाई सुनिश्चित गर्न पनि कुनै पनि डर र धम्कीको प्रभावमा नपरी न्याय सम्पादन गर्न आवश्यक रहेको बताइन् ।
उनले भनिन्, ‘न्यायको खोजी गर्न आउने हरेक व्यक्तिलाई सम्मानपूर्वक व्यवहार गरौ । न्यायको खोजी गर्न आउनेहरुको जुत्तामा आफ्नो खुट्टा राखेर अन्यायको अनुभुति गरौँ । र त्यसपछि न्यायको मर्मलाई बुझेर न्याय सम्पादन गरौं । कानून जवसम्म मानिसको जीवनसँग जोडिँदैन, त्यो केबल कागजको खोष्टनै हुन्छ ।आज न्यायाधीशहरु केवल कुर्सीमा बसेर फैसला सुनाउने मात्रै होइन, उनीहरु त नेतृत्वको मसाल बोकेर सुधारको बाटोमा पनि हिँडिराखेका छन । यो पनि हामी सन्देश दिन चाहन्छौँ ।’
न्यायाधीश मल्लले न्यायको खोजी गर्न आउने हरेकलाईं सम्मानपूर्वक व्यवहार गर्न पनि सम्बन्धित सबै पक्षलाई सचेत गराइन्।











