Logo
Logo

बुधवार बिहानसम्म समानुपातिकतर्फको अन्तिम मत परिणाम आइसक्ने


882
Shares

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जि.सी.ले समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको भन्दै बुधवार बिहानसम्म सम्पन्न हुने अनुमान गरिएको बताएका ।

उनकाअनुसार मंगलवार अपरान्हसम्म ३÷४ वटा निर्वाचन क्षेत्रको मतगणना प्रक्रिया जारी रहेको छ । जि.सी.ले मतगणनाको गति यही अनुपातमा जारी रहेमा आज मध्यरात वा भोलि बिहानसम्म सबै निर्वाचन क्षेत्रको मतगणना सकिने र अन्तिम परिणाम भोलि बिहान नभए दिउँसोसम्म सार्वजनिक आयोगको अनुमान रहेको बताए ।

यद्यपि कुनै स्थानमा उम्मेदवार वा प्रतिनिधिबीच विवाद, सदर तथा बदर मतको विषयमा असहमति भएमा अन्तिम परिणाम आउन केही ढिलाइ हुनसक्ने उनको भनाइ छ । त्यस्तै, औसतमा ३ देखि ४ प्रतिशतसम्म मत बदर भएको देखिएको जि।सीले बताए ।

उनले अघिल्लो निर्वाचनको तथ्यांक अध्ययन गर्दा औसतमा करिव पाँच प्रतिशत मत बदर हुने अनुमान गरिएको समेत बताए। समानुपातिकतर्फको मतगणना सम्पन्न भएपछि राजनीतिक दलहरूलाई सिट बाँडफाँड प्रक्रियाका लागि आयोगले औपचारिक पत्राचार गर्ने सहायक प्रवक्ता जि।सी।ले बताए ।

उनले भने, ‘प्रतिनिधि सभा निर्वाचन २०८२ को पहिलो हुने निर्वाचित हुने (प्रत्यक्षतर्फ) मतगणना सम्पन्न भई परिणाम समेत घोषणा भइसकेको छ । समानुपातिकतर्फ आज बिहानसम्म १२÷१३ निर्वाचन क्षेत्रहरुको प्रक्रियामा थियो । त्यो बाहेक अरु सबै निर्वाचन क्षेत्रहरुको परिणाम आइसकेको थियो । अहिले भर्खरसम्म बुझ्दाखेरी ३÷४ वटा निर्वाचन क्षेत्रको मतगणना प्रक्रियामा रहेको छ । आज मध्यराती वा भोलि बिहानसम्ममा सबै निर्वाचन क्षेत्रको परिणाम आइसक्छ भन्ने जानकारी आएको छ ।’

प्रतिनिधि सभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फका सबै १ सय ६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम घोषणा भइसकेको छ । सार्वजनिक नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ १२५ सिट जित्दै पहिलो दल बनेको छ । त्यस्तै, दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले १८ सिट जित्न सफल भएको छ भने तेस्रो स्थानमा रहेको नेकपा (एमाले) ले ९ सिट जितेको छ ।

चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टीले ८ सिट जितेको छ भने नयाँ उदय भएको श्रम संस्कृति पार्टीले ३ सिट जित्दै उत्साहजनक उपस्थिति जनाएको छ । त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट जितेको छ भने एक जना स्वतन्त्र उम्मेदवार पनि विजयी भएका छन् । समानुपातिकतर्फ समेत राष्ट्रिय स्वतन्त्र पार्टीले फराकिलो मतान्तरसहित अग्रता कायमै राखेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्