काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतविरूद्ध अदालतको अवहेलनामा मुद्दा दायर भएको छ ।बस्नेतविरूद्ध बुधबार सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा दायर भएको हो ।

जेनजी आन्दोलनलगत्तै विघटन भएको प्रतिनिधि सभा पुनर्स्थापनासम्बन्धी मुद्दाको विषयलाई लिएर न्यायाधिशहरूविरूद्ध अभिव्यक्ति दिएका भन्दै बस्नेतविरूद्ध मुद्दा दायर भएको हो ।
सर्वोच्च अदालतमा विचारधीन रहेको मुद्दामा धारणा राखेको भन्दै अधिवक्ता लबन न्यौपानेले एमाले सचिव बस्नेतविरूद्ध मुद्दा दायर गरेका हुन्। आज दायर भएको मुद्दामा चैत १ गतेलाई पेसी तोकिएको छ।
‘प्रधान न्यायाधीश लगायतका न्यायाधीश लाग्दै नलागेको रोग लागेर गायब हुने, न्यायीक प्रक्रिया आतंकित भएर, डराएर अथवा लोभ प्रलोभनमा परेर अथा हस्तक्षेप भएर प्रक्रिया ढिला गर्ने नदिने दबाबमा पर्ने शक्तिको सामु डराउने प्रधान न्यायाधीश फोन अफ गर्ने पन्छिने’ भन्दै अभिव्यक्ति दिएको आरोप छ।
त्यस्तै ‘हामी वैदेशिक आक्रमणमा छौं र हाम्रो सर्वोच्च अदालत, उच्च र जिल्ला अदालतहरू मात्र जलेका होइनन्। हाम्रो न्याय प्रणाली नै जलेको छ भन्ने कुरा यसबाट अनुभूति हुन्छ’ भन्दै बस्नेतले सार्वजनिक रूपमा ‘हुर्मत’ लिने काम गरेको निवेदक पक्षको भनाइ छ।











