काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ-६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन खर्च विवरण बुझाएका छन् ।

प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय मोरङमा पेश गरिएको विवरणअनुसार उक्त निर्वाचनमा कोइरालाले कुल २२ लाख ३१ हजार ८८ रुपैयाँ ६९ पैसा खर्च गरेको उल्लेख छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७२ तथा निर्वाचन आचारसंहिता बमोजिम उनको तर्फबाट निर्वाचन प्रतिनिधि विकास थापाले बिहीबार आयोगमा उक्त खर्च विवरण दर्ता गराएका हुन् ।
कोइरालाले सबैभन्दा ठूलो रकम प्रचारप्रसार सामग्री छपाइमा खर्च भएको देखिन्छ । मतदाता नामावली, नमुना मतपत्र, पर्चा, पम्पलेट, स्थानीय घोषणापत्र, झण्डा र फ्लेक्सलगायतका सामग्री छपाइमा मात्रै १६ लाख ४६ हजार ६ सय ९ रुपैयाँ १९ पैसा खर्च भएको छ। यसैगरी, निर्वाचन प्रचारप्रसारका लागि १ लाख १३ हजार, गाडीको इन्धनमा १ लाख १६ हजार ३ सय १९ रुपैयाँ ५० पैसा र कलम, फाइल, फोटोकपी पेपरलगायतका स्टेसनरी सामग्रीमा १ लाख ४ हजार ५ सय रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।
चुनावी अभियानका क्रममा कार्यकर्ता तथा शुभेच्छुकको खाजा र खानामा ९६ हजार ६ सय ६० रुपैयाँ खर्च भएको छ । त्यस्तै, पार्टी तथा भ्रातृ संस्था परिचालनका लागि यातायाततर्फ ७९ हजार, प्रचार कार्यालय सञ्चालनार्थ टेन्टको व्यवस्थापनमा ४० हजार र आवश्यकता अनुसारको मसलन्द सामग्री खरिदमा ३५ हजार रुपैयाँ खर्च भएको देखाइएको छ ।











