
पाँचथर । तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा खानेपानी अभावका कारण आधाभन्दा बढी घर खाली भएका छन् ।
स्थानीय अनुसार विसं २०७४ देखि वर्षा कम हुन थालेपछि पानीका मुहान सुकेका छन्, जसले बसाइँसराइ बढाएको छ।
गाउँमा विद्युत् र सडक सुविधा भए पनि पम्पिङ खानेपानी आयोजना संचालनमा समस्या भएपछि पानी वितरण हुन सकेको छैन। ढुकुरे डाँडागाउँको ६० घरमध्ये हाल करिब २५ घर परिवार मात्र बस्दै आएका छन् ।
स्थानीयहरूले पानी अभाव र जमिन सुक्खा हुनु आम्दानी घट्ने मुख्य कारण भएको बताउँदै समस्या समाधान नभएसम्म बस्ती खाली हुने अवस्था रहेको बताएका छन्।
आङ्ना मौवा बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सदस्य राजकुमार देवानले समस्या समाधानको प्रयास भइरहे पनि बजेट र संरचना अभावले वितरण सहज नभएको जानकारी दिए ।











