Logo
Logo

वासिङ्टनमा राखियो ट्रम्प र एपस्टाइनको ‘टाइटानिक’ पोजको मूर्ति


0
Shares

काठमाडौं । अमेरिकाको वासिङ्टन डिसीमा राष्ट्रपति डोनाल्ड ट्रम्प र यौन अपराधमा दोषी ठहरिएका जेफ्री एपस्टिनको १२ फिट अग्लो मूर्ति राखिएको छ । उक्त मूर्तिमा दुवै जना चलचित्र ‘टाइटानिक’ को प्रसिद्ध ‘किङ अफ द वर्ल्ड’ शैलीमा उभिएको देखिन्छ ।

यो मूर्ति ‘द सिक्रेट ह्यान्डसेक’ नामक गुमनाम कलाकार समूहले नेसनल मल नजिक स्थापना गरेको बताइएको छ । केहीले यसलाई राजनीतिक कला र अभिव्यक्तिको स्वतन्त्रताको उदाहरणका रूपमा हेरेका छन् भने धेरैले भने यसलाई आपत्तिजनक भन्दै आलोचना गरेका छन् । यस विषयमा अहिलेसम्म ह्वाइट हाउसले कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। यसअघि पनि ट्रम्प र एपस्टिनलाई देखाउने यस्तै प्रकारको मूर्ति स्थापना गरिएको थियो । मूर्तिको वरिपरि राखिएका ब्यानरहरूमा दुवैको तस्बिरसहित ुमेक अमेरिका सेफ अगेनु जस्ता नाराहरू लेखिएका छन् । मूर्तिमा एपस्टिन अगाडि उभिएका छन् भने ट्रम्प उनको पछाडि हात फैलाएर उभिएको देखिन्छ ।

यो शैली सन् १९९७ मा बनेको चर्चित चलचित्र ‘टाइटानिक’को एक प्रसिद्ध दृश्यबाट प्रेरित भएको बताइएको छ । उक्त दृश्यमा अभिनेता लियोनार्डो डिक्याप्रियोले जहाजको अगाडिको भागमा उभिएर हात फैलाउँदै ‘आइ एम द किङ अफ द वर्ल्ड’ भनेको दृश्य निकै चर्चित मानिन्छ ।

यसअघि पनि यही कलाकार समूहले सन् २०२५ मा ‘बेस्ट फ्रेन्ड फरेभर’ नामको मूर्ति राखेको थियो, जसमा ट्रम्प र एपस्टिन हात समातेर उभिएको देखाइएको थियो ।

जेफ्री एपस्टिन अमेरिकाका एक वित्त व्यवसायी थिए, जसलाई नाबालिग किशोरीहरूको यौन शोषण र मानव बेचबिखनसँग सम्बन्धित गम्भीर आरोप लागेको थियो । उनलाई सन् २०१९ मा पक्राउ गरिएको थियो तर सोही वर्ष न्युयोर्कस्थित जेलमा उनको मृत्यु भएको थियो ।

सन् १९९० को दशक र त्यसपछि केही वर्षसम्म ट्रम्प र एपस्टिनलाई विभिन्न सामाजिक कार्यक्रम तथा पार्टीहरूमा सँगै देखिएको थियो। पछि भने ट्रम्पले आफूले एपस्टिनसँगको सम्बन्ध धेरै अघि नै अन्त्य गरेको र उनलाई आफ्नो क्लबबाट प्रतिबन्ध लगाएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्