Logo
Logo

स्टेथोस्कोपदेखि ’मिसेस इन्टरनेशनल’को ताजसम्म


रेजिना पाण्डे

0
Shares

काठमाडौं । पछिल्लो समय डा. सञ्जु भट्टको परिचय फेरिएको छ । पेशाले क्लिनिकल प्याथोलोजी डाक्टर भट्ट सन् २०२५ को मिसेस् इन्टरनेशनलको उपाधि जितेसँगै सुन्दरीको उपनामले चिनिन थालेकी छिन् । उपाधि पाएसँगै जिम्मेवारी बढेको महसुस गरेकी उनले अमेरिकामा आयोजना भएको मिसेस् बल्र्डमा पनि सहभागी हुने मौका पाइन् । उनलाई पहिले डाक्टर भनेर मात्र चिन्थे तर, अहिले मिसेस् इन्टरनेश्नल भनेर धैरैले चिन्न थालेका छन् । भैरहवामा चिकित्सा शिक्षा अध्ययन गरेकी सञ्जु भन्छिन्– धेरै विवाहित महिलाहरूले घरकै चुलो चौकोमा अल्झिरहेको अवस्थामा घरबाहिर पनि केही गर्न सकिन्छ भन्ने उदाहरण दिन जरुरी छ । ३४ वर्षीया मिसेस् इन्टरनेशनल डा. सञ्जु भट्टराईसँग रेजिना पाण्डेको जम्काभेट ।

मिसेस् इन्टरनेशनलको उपाधि जित्दा कस्तो महसुस भयो ?
म मात्र होइन, सफलतामा जो कोही पनि खुसी हुनु स्वाभाविक हो । म पनि धेरै खुशी भएँ । यो मेरो लागि नयाँ अनुभव थियो । सबैले बधाई दिइरहनुभएको छ । जितपछिको उत्सव मनाइरहेकी छु ।

उपाधि जित्छु भन्ने लागेको थियो ?
जुनसुकै प्रतियोगितामा प्रतिस्पर्धामा जाँदा जित्छु भनेर नै गइन्छ । म मात्र होइन, २५ जना सहभागी पनि उपाधि जित्छु भनेर जानुभएको थियो । शीर्ष उपाधि जित्न नसके पनि मिसेस् इन्टरनेशनलको उपाधि भने पाएँ ।

तपाईंले नै यो उपाधि कसरी जित्नुभयो ?
सके उपाधि जित्छु, नसके पनि केही सिकेर आउँछु भनेर प्रतियोगितामा भाग लिएको थिएँ । मैले धेरै मिहेनत गरेँ । साना कुरालाई पनि ध्यान दिएँ । त्यही कारण यो उपाधि जित्न सकेँ भन्ने मलाई लाग्छ । त्यसमा मेरो आत्मविश्वासले काम गरेको छ ।

कस्तो रह्यो पहिलो पटकको अनुभव ?
राम्रो अनुभव रह्यो । ४१ जना सहभागी भएकोमा नेपालबाट मैले जाने मौका पाएको थिएँ । विवाह गरेपछि पनि जीवनलाई अघि बढाउन सकिदोरहेछ भन्ने कुरा सिक्न पाइयो । जुनसुकै रूपमा बाधा, अड्चन जे आए पनि आफ्नो लागि केही गर्नुपर्छ भन्ने प्रेरणा मिल्यो ।

तर, मिसेस् वल्र्डमा खास उपलब्धी भएन नि ?
प्रतिस्पर्धामा जित मात्र हुन्छ भन्ने हुँदैन । कहिले जितिन्छ, कहिले सिकिन्छ । त्यसबाट सिकेको कुरा पनि एक प्रकारको जित नै हो । मैले यसलाई जित नै सम्झेको छु ।

तपाईं पेशाले डाक्टर, कला क्षेत्रमा कसरी आउनुभयो ?
एउटा रहर र जिज्ञासाले मलाई यो क्षेत्रमा तानेको हो । सानैदेखि ग्लामरस क्षेत्रमा जान्छु भन्ने योजना पनि थिएन । विवाहित महिलाले पनि आफूमा लुकेको प्रतिभालाई उजागर गर्न सक्छन् भन्ने सोच आएर नै यो क्षेत्रमा अघि बढेको हुँ ।

सिनेमा, म्युजिक भिडियोतिर पनि काम गर्ने सोच छ कि ?
छ, राम्रो कन्सेप भएको स्कृप्ट भयो भने काम गर्छु ।

धैरै महिलाहरू अहिले पनि हिंसाको सिकार भइरहेका छन् । विभेद, अन्याय सहन बाध्य छन् । कतिपय अवसरबाट वञ्चित भएका छन् । यसलाई कसरी हेर्नुहुन्छ ?
महिलाहरू अझै यातना भोगिरहेका, अन्यायमा परेका समाचारहरू आइरहेका छन् । अन्याय भयो भन्ने महसुस भयो भने संघर्ष र सामना गर्न सक्नुपर्छ । दबिएर बस्नु हुँदैन ।

कलाकारिता क्षेत्रमा जान परिवारको साथ पाउनुभयो ?
श्रीमान्, सासु, ससुरा सबैले जाऊ, रहर पुरा गर भनेर सपोर्ट गर्नुभयो । त्यही भएर म मिसेस् नेपालमा गएँ र अहिले यहाँसम्म आइपुगेकी छु ।

श्रीमान् के गर्नुहुन्छ ?
श्रीमान् दीपेश बस्नेत छालाको डाक्टर हुनुहुन्छ ।

तपाईँको ‘लव म्यारिज’ कि ‘मागी विवाह’ ?
हाम्रो लव म्यारिज हो । मेडिकल कलेजमा नै हाम्रो भेट भएको हो । विवाह गरेको पनि सात वर्ष भइसक्यो ।

बच्चाहरू छन् कि छैनन् ?
अब फेमेली प्यालिनिङ गर्दैैछौँ ।

भविष्यको योजना के बनाउनु भएको छ ?
कलाकारिता क्षेत्रलाई अगाडि बढाउने छु । साथसाथै, आफ्नै पेसामा रहेर क्यान्सर रोगको बारेमा सचेतना अभियान चलाउने योजना छ ।

प्रतिक्रिया दिनुहोस्