
काठमाडौं । राजनीतिक दलहरूले प्रतिनिधिसभा निर्वाचनमा प्राप्त सिटका आधारमा निर्वाचन आयोगमा नाम पठाउन धमाधम समानुपातिक सांसद छनोट गरिरहेका छन् ।
आयोगले यही फागुन २८ गते दलहरूले प्राप्त गरेको समानुपातिक मतका आधारमा सिट संख्या तोक्दै ३ दिनभित्र सांसदको नाम पठाउन भनेको थियो । त्यस आधारमा राजनीतिक पार्टीहरूले यसअघि पेस गरेका बन्दसूचीमा समावेश नामबाट समानुपातिक प्रणालीको नियमबमोजिम अहिले प्राप्त सिट संख्याका आधारमा सांसद चयन गरिरहेका हुन्।
आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसले सांसद चयन गर्दैछन् । त्यसका लागि रास्वपाले बिहान १० बजे पार्टीको केन्द्रीय कार्यालय (वनस्थलीमा सचिवालय बैठक बोलाएको छ । प्रत्यक्षतर्फ १२५ स्थानमा विजयी रास्वपाले समानुपातिकतर्फ ५७ सिट जितेको छ ।
यस्तै कांग्रेसले पनि आजै दिउँसो १ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक राखेर समानुपातिक सांसद चयन गर्दैछ । प्रत्यक्षतर्फ १८ क्षेत्रमा जित हासिल गरेको कांग्रेसले समानुपातिकतर्फ २० सिट प्राप्त गरेको छ ।
यता नेकपा एमाले र श्रम संस्कृति पार्टीले भने समानुपातिक सांसद छानिसकेका छन् । प्रत्यक्षमा ९ सिट जितेको एमालेले समानुपातिकमा १६ र प्रत्यक्षमा ३ क्षेत्र जितेको श्रम संस्कृतिले ४ समानुपातिक सांसद पाएको छ ।











