काठमाडौं । जेन–जी अगुवा रक्षा बमले अब बन्ने सरकारले भदौ २३ र २४ मा भएको जस्तो घटना पुनः दोहोरिन नदिने ग्यारेन्टी दिनुपर्ने बताएकी छन्।
आइतवार माइतीघर मण्डलामा सरकार गठनअघि नै यस्तो नियति नेपाली जनताले फेरि भोग्न नपर्ने प्रतिवद्धता सरकारले गर्नुपर्ने बताएकी हुन् ।
अब बन्ने सरकारले शपथ लिनुअघि जेन–जी पुस्तासँग संकल्पन गर्नुपर्ने उनको भनाइ छ । उनले राज्य शक्तिशाली भएपनि नागरिकमाथि दमन गर्न नपाइने स्पष्ट सन्देश दिनुपर्ने बताउइन्। बमले सुशासनका विषयमा सरकार सकारात्मक हुने अपेक्षा व्यक्त गर्दै जनताका तर्फबाट खबरदारीपूर्ण समर्थन रहने बताइन् ।
उनले भनिन्, ‘एउटा महत्वपूर्ण कुरा के हो भने अब बन्ने सरकारले भदौ २३ र २४ को नियति फेरि नेपाली जनताले भोग्नु नपर्ने ग्यारेन्टी चाहीँ हामीलाई दिनुपर्छ । उनीहरुले शपथ ग्रहण गर्नु अगाडि हामीसँग पनि एक किसिमको संकल्प गर्नुपर्छ होला कि यस्तो नियति फेरि नेपाली जनताले भोग्नु नपरोस् । जनताका छोराछोरी मार्न पाइँदैन । जतिसुकै शक्तिशाली सरकार भएपनि जनताका छोराछोरी मार्न पाइँदैन भन्ने स्पष्ट सन्देश बुझ्नुपर्छ ।’
उनले समयक्रमसँगै अन्य विषय परिवर्तन हुन सक्ने भए पनि नागरिक सुरक्षाको ग्यारेन्टी पहिलो प्राथमिकता हुनुपर्ने धारणा राखिन्।











