
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश कार्यवाहक अध्यक्ष गोमा तामाङ ‘सरिन’ ले पार्टीले पठाएका समानुपातिक सांसदको सूचीलाई लिएर असन्तुष्टि व्यक्त गरेकी छन् ।
पार्टीले कोशीको भौगोलिकता र जातीय क्लस्टर समेट्न नसकेको भन्दै उनले सामाजिक सञ्जालमार्फत अबका दिनमा संगठनमा धेरै असर नपर्ला भन्न नसकिने चेतावनी दिएकी छन् । गोमाले आफूले कोशीको हकमा पहाडी भूगोल छुटाउन नहुने सुझाएको बताएकी छन् ।
जान्नेलाई छान्ने लहडमा ओखलढुंगाकी शोभा कार्की, खोटाङकी गायिका सत्यकला राई र ताप्लेजुङकी मीरा लाबुङको नाम नसमेटिएको उनको भनाइ छ ।
उनले लेखेकी छन्, ‘जान्नेलाई छान्ने लहडमा पर्नुपर्ने थियो, ओखलढुंगाको बगरहरूमा घण्टी बोकेर पहिलो ०७९ को उम्मेदवार जसले सानो नानी च्यापेर रास्वपाको बीउ रोपेकी थिइन् । तर, उहाँको नाम परेन । खोटाङबाट समानुपातिकमा नाम थियो चर्चित गायिका बौद्धिकताकी खानी सत्यकला राई उहाँको नाम किन आएन ?’
केन्द्रीय नेताका वरपर भएकाले समानुपातिक सूचीमा ध्यानाकर्षण गराउन नसक्नु विडम्बना भएको उनको टिप्पणी छ । गोमा तामाङ सुनसरी–१ मा हर्क साम्पाङसँग पराजित भएकी थिइन् । रास्वपाका तत्कालीन प्रदेश अध्यक्ष राजेश तिम्सिनालाई कारबाही गरिएपछि उनले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकी छन् ।











