काठमडौं । मिटरब्याज पीडिकहरुलाई कडा कारबाही गर्न माग गर्दै पीडितहरुले सोमवार काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरूले काठमाडौंको भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा पक्राउ परेका पीडिकहरुलाई तत्काल कडा कारबाही गर्नसरकारसँग माग गर्दै प्रदर्शन गरेका हुन ।

शान्ति तिवारी, विनय टिवटेवालालगायतका मिटरब्याज पीडकहरूलाई हाल सो परिसरमा नियन्त्रणमा लिइएको छ । लाखौँ रुपैयाँ ठगी गर्ने उनीहरूलाई कडा कारबाही गर्न आफूहरू सो परिसरमा प्रर्दशनका लागि आएको पीडित मञ्जु श्रेष्ठले बताइन् । उनले पीडकहरुले आफूहरूमाथि ठूलो अन्याय गरेकाले उनीहरूलाई सरकारले कडा कानुनी कारबाही गर्नुपर्ने माग गरिन् ।
श्रेष्ठले भनिन्, हामी यस्ता कुख्यात मिटरब्याजीहरुलाई निर्मूल पार्नुपर्छ । यिनलाई हदैसम्म कारबाही गर्नुपर्छ । यस्ताहरुलाई समाजमा तिरस्कार गर्नुपर्दछ भन्ने अभियानमा हामी लागेका छौँ । हामी यहाँ ५ सय जना भन्दा बढी पीडित छौ । तर, ४५ जनाले उजुरी दर्ता गरेका छौँ ।’
त्यसैगरी उनीहरूले पीडकहरूलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया सुरु गरिएको भन्दै नेपाल सरकार, अदालत र प्रहरीलाई पनि धन्यवाद दिएका छन् । आफूहरूमाथि ठगी गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएकाले उनीहरूलाई कडा कारबाहीका लागि दबाब दिनुपरेको अर्की पीडित सुनिता चापागाईँ खतिवडाले बताइन् । उनले नेपालमा धेरैले ठगीको सामना गर्नुपरेकाले त्यस्ता अपराध कर्ममा लागेकाहरूलाई सरकारले उन्मुक्ति दिन नहुने भन्दै आक्रोश समेत व्यक्त गरिन् ।











