काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले जनताले आफूहरूलाई इतिहास लेख्ने अवसर दिएको बताएका छन् । मङ्गलवारबाट सुरु भएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले जनताले दिएको अवसर उपयोग गर्नुबाहेक अन्य विकल्प नरहेको बताएका छन् ।

उनले भने, ‘यो इतिहास लेख्ने सुवर्ण अवसर हो । इतिहास लेख्ने मात्रै होइन । हामीले इतिहास लेख्ने यो अवसरलाई सदुपयोग गर्न सकेनौँ भने सायदै हामीले आफूले आफूलाई माफ गर्न गाह्रो हुनेछ ।’ साथै, उनले अनुशासित समाज निर्माण गर्नुपर्ने बताए ।
‘हामीले एउटा अनुशासित समाज निर्माण गर्नुपर्नेछ । हामीले अस्पताल जाँदा आफ्नो निर्वाचन क्षेत्रको नेता खोज्ने दिनको अन्त्य गर्नुपर्नेछ,’ अर्यालले भने, ‘हामीले स्कुल जाँदा आफ्नो क्षेत्रबाट निर्वाचित भएको नेताको खोजी गर्न छाड्नुपर्नेछ । हामी कर तिर्न जाँदा अन्डरटेबुल गर्नुपर्ने दिनको अन्त्य गर्नुपर्नेछ ।’
अहिलेको गम्भीर समयमा बन्न लागेको सरकार र जिम्मेवारी साँच्चै महत्त्वपूर्ण रहेको पनि उनले बताए । ‘यो गम्भीर समयमा बन्न लागेको सरकार र जिम्मेवारी साँच्चै महत्त्वपूर्ण छ,’ अर्यालले भने, ‘हाम्रा हरेक गतिविधिलाई जेनजीहरूले हेर्नुहुनेछ । हामीले त्यसलाई सम्बोधन गरेर जानुपर्नेछ । हामीले आफ्नो इमानदारिता, लगनशीलता र क्षमतालाई राष्ट्र र नेपाली जनतालाई सुम्पिनुपर्नेछ ।’











