काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियानका क्रममा सिनामङ्गलस्थित वाग्मती पुल क्षेत्रमा सफाइ गरी तीन मेट्रिकटन नकुहिने फोहर व्यवस्थापन गरिएको छ । आजको सफाइबाट उठाइएको फोहर काठमाडौं महानगरपालिकाले व्यवस्थापन गरेको हो ।

सफाइमा पूर्वमुख्यसचिव एवं चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, काठमाडौं महानगरपालिका-९ का वडा सदस्य नवराज अधिकारी, अधिकार सम्पन्न वाग्मती समितिका कर्मचारीसहित वाग्मती सफाइ अभियानकर्मीको उपस्थिति रहेको अभियाकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिए ।
विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाअभियानको आज ६७१औँ शृङ्खला हो । महाअभियान सुरु भएदेखि प्रत्येक शनिवार बिहान करिब दुई घण्टा वाग्मती नदीमा सफाइ हुने गरेको छ ।
वाग्मती सफाइ महाअभियानबाट प्रभावित भएर काठमाडौंमा यसका सहायक नदी, चक्रपथका विभिन्न खण्ड र राजधानी बाहिरका नदी क्षेत्रमा सफाइ अभियान सुरु भएको छ । सफाइ अभियानका क्रममा पछिल्लो समय कुहिने फोहरबाट कम्पोष्ट मल बनाएर नकुहिने फोहर सम्बन्धित स्थानीय तहले व्यवस्थापन गर्दै आएका छन् ।











