
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की समानुपातिक सांसद खुश्बु ओलीले संस्कृत भाषामा शपथ लिने भएकी छन् ।
संघीय संसद् सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथका लागि तय गरेको कार्यतालिका अनुसार झापाकी सांसद ओलीले आफ्नो शपथको भाषा संस्कृत रोजेकी हुन् ।
संसद् सचिवालयले नेपालीबाहेकका मातृभाषामा शपथ लिन चाहने सांसदहरूका लागि सोमबारसम्म नाम टिपाउने समय सीमा तोकेको थियो ।
सो अवधिमा खुश्बु ओलीसहित विभिन्न दलका दुई दर्जन सांसदहरूले आफ्नो मातृभाषा वा रुचि अनुसारको भाषामा शपथ लिने गरी विवरण बुझाएका छन् ।
२१ फागुनको चुनावबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरूको पद तथा गोपनियताको शपथ बिहीबार हुँदैछ । उनीहरुलाई ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले शपथ गराउने छन् ।












