Logo
Logo

झापाबाट वाम एकताको आह्वान, मूल एजेन्डा नेतृत्व हस्तान्तरण र पुस्तान्तरण


693
Shares

काठमाडौं । झापाका विभिन्न कम्युनिष्ट घटकमा आबद्ध नेताहरूले वर्तमान वामपन्थी आन्दोलन गम्भीर संकटमा परेको निष्कर्ष निकाल्दै यसको पुनर्गठन र सुदृढीकरणका लागि संयुक्त अपिल गरेका छन् ।

२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन परिणामपछि वामपन्थी आन्दोलनले पहिलोपटक यस्तो स्तरको पराजय व्यहोर्नुपरेको उल्लेख गर्दै एमाले, नेकपा लगायतका नेताहरुले वामपन्थी आन्दोलन पुनर्गठन गनुपर्ने औल्याएका हुन् ।

उनीहरुले नेतृत्वको कार्यशैली, विचारमा आएको विचलन र गुटबन्दीका कारण आन्दोलन रक्षात्मक अवस्थामा पुगेको बताएका छन् ।
झापाका १० जना वामपन्थी नेताहरूद्वारा जारी अपिलमा भनिएको छ, ‘नेतृत्वमा सत्ता बाहिर बस्नै नसक्ने भोक र वैचारिक विचलन देखिएको छ । पार्टी विधानको उल्लंघन, गुटबन्दी र जनताका दैनिक सरोकारभन्दा सत्ता स्वार्थमा केन्द्रित हुनाले आम जनता र विशेषगरी युवा पुस्तामा चरम निराशा पैदा भएको छ ।’

अपिलमा भदौ २३ र २४ को ‘जेन–जी विद्रोह’ पछि पनि नेतृत्वले वस्तुनिष्ठ समीक्षा नगरेको र पुरानै ढर्रामा चल्न खोज्दा मतदाताहरूले निर्वाचनमार्फत असन्तुष्टि व्यक्त गरेको उल्लेख छ ।

ऐतिहासिक झापा विद्रोहको भूमिबाट एकीकृत हुने उद्घोष गर्दै नेताहरूले भनेका छन्, ‘हामी मत परिणाममा मात्र पछि परेका हौँ, तर विजयी बन्ने हाम्रो यात्रा र अभियानलाई कसैले रोक्न सक्ने छैन । झापा विद्रोह र त्यसपछिका क्रान्तिकारी आन्दोलनका सहिदहरूको मर्मलाई स्मरण गर्दै हामी पुनर्गठनको अभियानमा लागेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्