काठमाडौं । पूर्वशिक्षामन्त्री महावीर पुनले आगामी सरकारले पहिलो दिनदेखि नै भ्रष्टाचारीहरूलाई नियम पुर्याएर कहिल्यै उठ्न नसक्ने गरी नंग्याउनु पर्ने बताएका छन् ।

म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पुनले मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भ्रष्टाचारीहरूलाई कारबाही गर्दा नियम बाधक बने तत्काल नयाँ नियम बनाउनु पर्ने पनि बताएका हुन् । उनले भनेका छन्, ‘अब आउने रास्वपाको सरकारले पहिलो दिनदेखि नै भ्रष्टाचारीहरुलाई नियम पुर्याएर कहिल्यै उठ्न नसक्ने गरी नंग्याउनु पर्छ । नियमले छेक्यो भने तुरुन्त नयाँ नियम बनाउनु पर्छ ।’
सरकारले भ्रष्टाचार रोक्न नसके जनतालाई ठूलो धोका हुने र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि कालान्तरमा हराएर जाने पुनको टिप्पणी छ । उनले भने, ‘तीन महिनाभित्र जनताले सुशासनको अनुभुति गर्न सकुन् । भ्रष्टाचार र कुशासन हटाउन सरकारलाई मैले पूर्ण सहयोग गर्नेछु ।’











