
काठमाडौं । विश्वको तेल आपूर्तिका लागि लाइफलाइन मानिने स्ट्रेट अफ होर्मुजबारे इरानले संयुक्त राष्ट्रसंघमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ । इरानले संयुक्त राष्ट्र सुरक्षा परिषद् र अन्तर्राष्ट्रिय सामुद्रिक संगठन (आईएमओ) लाई पत्र लेख्दै ‘गैर–शत्रु’ जहाजहरूले समन्वय गरेर मात्र यो जलमार्ग प्रयोग गर्न पाउने सर्त राखेको छ ।
इरानको विदेश मन्त्रालयले पठाएको पत्रमा भनिएको छ, इरानको सुरक्षा नियमहरू पूर्ण पालना गर्ने र इरान विरुद्धको सैन्य कारबाहीमा संलग्न नहुने जहाजहरूले मात्र यो बाटो प्रयोग गर्न पाउनेछन् । तर, अमेरिका र इजरायलसँग सम्बन्धित कुनै पनि जहाज, उपकरण वा सम्पत्तिलाई भने यो जलमार्गमा शान्तिपूर्ण प्रवेशको अनुमति हुने छैन ।’
अमेरिका–इजरायल र इरानबिच जारी युद्धका कारण स्ट्रेट अफ होर्मुज भएर हुने विश्वको झण्डै २० प्रतिशत तेल र प्राकृतिक ग्यासको ढुवानी लगभग ठप्प भएको छ । यसले गर्दा अन्तर्राष्ट्रिय बजारमा इन्धनको अभाव र मूल्य वृद्धि भइरहेको छ ।
इरानले आफ्ना शत्रु राष्ट्रहरूलाई यो जलमार्ग प्रयोग गरेर आक्रमणका लागि सैन्य अपरेसन अघि बढाउन नदिन यस्तो कडा कदम चालेको दाबी गरेको छ ।











