
काठमाडौं । सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ ।
सुर्खेतको गुर्भाकोट नगरपालिका–६ घर भई वीरेन्द्रनगर नगरपालिका–१ मा बस्दै आएकी इनिशाको मृत्यु भएको १९ दिनपछि जिल्ला प्रहरी कार्यालय, सुर्खेतले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो ।
गत फागुन २३ गते मृत्यु भएकी इनिशा प्रकरणका सबै अनुसन्धान रिपोर्ट जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख सुधीरराज शाहीले जानकारी दिए । यद्यपी, प्रहरीले अनुसन्धान प्रतिवेदनबारे केही खुलाएको छैन ।
गत फागुन २३ गते बिहान ६ बजे ‘ट्यूसन जान्छु’ भन्दै घरबाट निस्किएकी इनिशा वीरेन्द्रनगर–४, स्थित जनजागरण सामुदायिक वनमा बिहान ९ बजे अचेत अवस्थामा फेला परेकी थिइन् । प्रहरीले उद्दार गरेर कर्णाली प्रदेश अस्पताल पु¥याएपनि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।
प्रहरीले घटनास्थलबाट एक १६ वर्षीय किशोरलाई गिरफ्तार गरेको थियो भने अर्को दिन अन्य तीन जना किशोरलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेका थियो ।
इनिशाका आफन्तले सामुहिक बलत्कारपछि हत्या भएको भन्दै विरोध जनाएपछि घटनाको अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) समेत खटिएको थियो । प्रहरीले इनिशाको मृत्युको कारण पत्ता लगाउन उच्च प्रविधिको प्रयोग गरेको थियो ।
यता पीडित परिवारले घटनामा संलग्नमाथि कारबाही नहुन्जेल शव नबुझ्ने अडान लिएका छन् । इनिशाको शव १९ दिनदेखि कर्णाली प्रदेश अस्पतालको शव गृहमा छ ।











